(ABC-Sanchar)
सुर्खेत । केही दिनअघि सुर्खेतमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३० बर्षीय वडा अध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएको छ । कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई फागुन ८ गते भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक कर्णाली प्रदेश ०२-००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका १ सुर्खेतका वडा अध्यक्ष कार्कीलाई थप उपचारका लागि फागुन ९ गते हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा गएराती काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २० बर्षीय भुपेन्द्र शाहीको बी एन्ड बी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।