२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

मौसम खराबीको कारणले ५ दिनदेखि हवाई उडान प्रभावित

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

j

ABC – SANCHAR
काठमाडौँ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नुपरेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ ।

विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ । तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन । यो अवधिमा करिब ४० उडान रद्द भए ।

यस्तै, १२ भन्दा बढी उद्धार उडान रद्द भएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबैभन्दा बढी असर हेलिकोप्टर कम्पनीमा परेको बताउनुभयो ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ । वायु प्रदूषणले मानवस्वास्थ्यमा पनि असर गर्ने विज्ञहरुले बताएका छन् ।

वसन्त यामको मुख्य आरोहणको मौसममा हेलिकोप्टरको व्यापार राम्रो हुन्छ । अघिल्लो वर्ष कोभिड–१९ महामारीका कारण आरोहण नभएपछि प्रभावित बनेको यो व्यवसाय कोभिडपछि विस्तारै गति लिँदै गरेकामा केही दिनदेखिको मौसम खराबीको थप चपेटामा परेको छ । हेलिकोप्टरका ११ कम्पनी रहे पनि १० कम्पनीका ३६ हेलिकोप्टरले सेवा दिँदै आएका छन् । भिजिबिलिटी नहुँदा हेलिकोप्टरमात्र हैन जहाजको उडान पनि प्रभावित भएको छ ।

प्रवक्ता शर्माका अनुसार हवाईजहाजतर्फ पनि चार दिनसम्म अधिकांश उडान रद्द भए । सोमबारसम्मको तथ्याङ्कमा ट्रङक रुटमा बुद्ध एयरको ६५, यती एयरलाइन्सको ४५, श्री एयरलाइन्सको २२, सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सका आठ उडान रद्द भएका छन् ।

यस्तै, स्टल रुटमा पनि करिब ४० उडान रद्द भएको सङ्घका प्रवक्ता शर्माले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नियमित उडानमा ४०० उडान हुने गरेका छन् । हवाईजहाजतर्फ नौ कम्पनीका ५० जहाज छन् ।

पछिल्लो चार दिनमा आन्तरिकतर्फ सयौँ उडान रद्द भएका छन् । प्रतिकूल मौसमकै बीच विमानस्थलले आन्तरिक र अन्तरराष्ट्रियतर्फ यान्त्रिक पद्धति (आइएफआर) उडान सञ्चालन गरिरहेको छ । अन्तरराष्ट्रिय उडानतर्फ पनि केही उडान प्रभावित भएका छन् । थोरै उडान डाइभर्ट भएका थिए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

अहिले पनि नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका विभिन्न स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिनुभयो ।

अर्का मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताउनुभयो । अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उहाँले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जसको प्रभावले अहिले बिहान देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । त्यस्तै, काठमाडौंमा छिटपुट वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर […]

(एबिसि संचार ) नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज सुदूरपश्चिम प्रदेश र कर्णाली […]

(एबिसि संचार )                पश्चिमी बायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौँ उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए ।शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी […]