
ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज ४ बिर्तास्थित बाल सुधार गृहको अवस्था अहिले पनि तनावपूर्ण नै रहेको छ । हालसम्म पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सकेको छैन । गृहमा रहेका बालकैदीहरूले प्रहरीलाई भित्र प्रवेश गर्न दिएका छैनन् ।
सुधार गृह भित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि अहिले पनि ढुङ्गा मुढा प्रहार भइरहेको छ भने केही बालकैदी पर्खाल तोडेर बाहिर पनि निस्केका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस पनि प्रहार गरेको छ ।
सुधार गृहमा रहेका बालकैदीबीच झडप हुँदा ११ जना बालकैदी तथा उनीहरूले प्रहार गरेको ढुङ्गा मुढाबाट तिन जना प्रहरी गरी कूल १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तीन हप्ता अगाडि भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएकाहरूबिच मङ्गलवार राती करिब ८ बजे विवाद भई झडप सुरु भएको थियो । झडपले उग्र रूप लिए पछि स्थिति नियन्त्रणबाट बाहिर गएको थियो ।
घाइते हुनेमा अधिकांश भक्तपुरबाट ल्याइएका बालकैदी रहेको प्रहरीको भनाई छ । घाइतेमध्ये १० जना बालकैदी केही दिन अगाडि भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका रहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । घाइतेहरूलाई गए राती नै नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको एसपी शाहले बताए ।
एसपी शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकैदीहरूलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालकैदी थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकैदीहरु रहेका गृह प्रमुख टिकाकृष्ण काफ्लेले जानकारी दिए ।
भक्तपुरबाट ल्याएर राखिएका बालकैदीहरूले मङ्गलवार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा विवाद भई झडप भएको उनको भनाई छ । त्यस क्रममा उनीहरूले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । यद्यपि भित्रबाट बालकैदीहरूले ढुङ्गा मुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि भित्र प्रवेश गर्न दिएका थिएनन् । गए राती पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्याँस चलाएको थियो ।
अहिलेसम्म पनि प्रहरीलाई सुधार गृहभित्र रहेका बालकैदीहरूले प्रवेश गर्न नदिएको त्यहाँ खटिएका पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए । उनले भने, ‘मङ्गलवार रातिको भन्दा अहिले स्थिति केही सामान्य छ तर भित्र उनीहरूले अहिले पनि होहल्ला गरी नै रहेका छन् ।’
बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्लेका अनुसार भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले मङ्गलवार बेलुका सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थित तनावग्रस्त बनेको थियो ।
प्रदर्शन गरिरहेका बालकैदीहरूले भने सुधार गृहमा आफूहरूलाई खाना राम्रो नदिएको, घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको, एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको, शौचालय राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिने गरेको जस्ता आरोप लगाएका छन् ।