२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

कतिपय अवस्थामा पत्रकारले समाचारको स्रोत खोल्नु हुँदैन खोलेमा स्रोत जोखिममा पर्दछ

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

(विपुल पोख्रेल)
कतिपय अवस्थामा पत्रकारले समाचारको स्रोत खोल्नु हुँदैन, खोलेमा स्रोत जोखिममा पर्दछ । त्यसकारण पत्रकार आचारसंहितामा नै पत्रकारलाई यही सहुलियत दिइएको छ । आज मैले यो डायरी लेख्दै गर्दा यो सहुलियतको प्रयोग गर्दैछु, अर्थात स्रोत खुलाउने छैन ।
विहान ९ बजेतिर एउटा फोन आयो, परिचित अनि प्रिय मित्रको । औपचारिक संवादपछि उनले भने– ‘तपाईं पनि जुठो पर्ने हुनुभयो है आज ।’
‘किन ? को के भयो र ?’ म अलमल र आत्तिँदै प्रश्न गरेँ ।
उनी हाँस्दै थिए र भने– ‘हैन के, त्यस्तो केही हैन, कोरोना देखियो दाङमा पनि ।’
‘होर !’ म आश्चर्यमा परेँ, ‘कसलाई कहाँ ?’
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षणमा केहीमा देखियो रे, त्यसलाई फेरि नेपालगञ्ज परीक्षण गरेर मात्र सार्वजनिक गर्ने कुरा भएको छ रे, तर हुन चाहिँ कन्फर्म हो भनेका छन् ।’
म के गरुँ गरुँ भएँ । पहिलो जानकारी मलाई नै आयोझैँ लाग्यो । पुष्टि नहुँदै कतै भन्न पनि नहुने । नेपालगञ्जमा हुने परीक्षणमा नेगेटिभ आयो भने झन गलत हुन्छ । मौनता साँधेर बसे ।
तर, मनले मानेन । देउखुरी क्षेत्रको परीक्षणका क्रममा त्यसो पाइएको भन्ने जानकारी ती फोन गर्ने मित्रले दिएका थिए ।
देउखुरी भनेपछि झसङ्ग भएँ । त्यहाँ पैदल आउजाउ गर्नेहरुको भीडभाड र त्यसक्रममा उद्धारमा खटिने अनि सूचनाका लागि खटिने पत्रकारहरुलाई सम्झिएँ । पत्रकार महासंघका जिल्ला अध्यक्षलाई फोन गरेँ । पूरै सूचना त दिएन, तर अब दाङ पनि जोगिँदैन होला भन्दै देउखुरी क्षेत्रका पत्रकारहरुलाई सतर्क रहन र उनीहरुको स्वाब परीक्षणका लागि पहलकदमी लिन आग्रह गरेँ । उनले ‘हुन्छ’ भने ।
त्यतिले मात्र पनि मन मानेन । लमही उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठलाई फोन गरेँ । यतिमात्र भने– ‘दाङमा कोरोना प्रवेश ग¥यो भने देउखुरीबाटै गर्ने हो, त्यतिबेला मास टेष्ट गर्नुपर्ने होला, त्यो भन्दा पहिले तपाईंहरु अग्रमोर्चामा रहेकाहरुले स्वाब परीक्षण गर्ने सोच बनाउनुस् है ।’
उनलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न पनि भने मैले । उनले के गरेँ, मलाई थाहा छैन ।
घरमा कसैलाई पनि भनेन । फोनमा कुरा गर्दै गरेको छोरोले सुनेको थियो । उसलाई पनि कसैलाई नभन्न भने, भनेन पनि ।
खाना खानासाथ म गाडी लिएर लमही दौडिएँ । ५४ दिनपछि गाडी चलाउन थालेको थिएँ । केही जाँच पनि नगरेर हुइँकिएँ । मलाई लाग्यो, अब लमही सिल हुन्छ । मेरो एउटा पारिवारिक काम गर्नु थियो । सिधै पुगेर काम सकी फर्किएँ ।
पत्रिकाका लागि के गर्ने के गर्ने भन्ने भयो । बेलुकासम्म नेपालगञ्जको रिपोर्ट नआउन पनि सक्छ, तर भोलि विहान पत्रिका र कोरोना रिपोर्ट त सँगै जान्छ । त्यो बेला पत्रिका खल्लो नहोस् भन्ने सोचेँ । गोरक्षकर्मी इन्द्र(डिसी)लाई फाने गरेँ । कोरोना संक्रमित देखिहाले पनि हाम्रो समाचार खल्लो नहुने गरी रिपोर्ट तयार गर्न भने ।
‘देखियो र दाइ ?’ उनले सोधे ।
‘देखिएला, नदेखिएला, त्यो अर्को कुरा, हाम्रो तयारी गरम् न त’ मैले भने ।
‘केही सूचना पाउनुभयो के हो ?’
‘अलि–अलि’ इन्द्रलाईसम्म कुरा चुहाएँ ।
‘काँ होला…?’ उनले पत्याएनन् ।
गोरक्षको अफिसमा आयौँ । इन्द्रले त्यही अनुसार रिपोर्ट लेखे पनि । दाङमा संक्रमित देखिए र भारतबाट आउँदै गरेका आए भने अहिलेको तयारीले पुग्दैन भन्ने उनको समाचारको निष्कर्ष छ । क्वारेन्टाइनको अवस्थाको पनि उनले चर्चा गरेका छन् आफ्नो रिपोर्टमा । भूईँमा सुत्नुपर्नेदेखि अन्य गुणस्तरीयताको सवालमा धेरै काम गर्न बाँकी छ भन्ने देखाउँछ इन्द्रको रिपोर्टले ।
सरकारको नीति तथा कार्यक्रमको घोषणा पनि हुँदै थियो । प्रायः ७ बजेभित्रै पत्रिकाको काम सकिन्छ आजकल, सकियो पनि । त्यतिबेलासम्म पनि आएन रिपोर्ट ।
नेपालगञ्जमा पनि पोजेटिभ रिपोर्ट आएछ । ८ः३० बजे बेलुका प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरेर दुई जनामा संक्रमण देखिएको औपचारिक जानकारी दियो । यो जानकारीले मलाई भने केही राहत भयो । एउटा त पुष्टि भएपछि मनभित्रको के होला भन्ने छट्पटी सकियो । अर्को मलाई सूचना दिने विहानका मित्रले ५ जनामा संक्रमण देखिने संकेत गरेका थिए । त्यो संख्या दुई मात्र सुनेपछि राहत हुने नै भयो ।
इन्द्रले लेखेको ‘जोखिम धेरै, तयारी कम’ भन्ने समाचार पत्रिकामा छापिँदै थियो । त्यसमा संक्रमितको अंक र दाङमा पनि देखिएको सन्दर्भ थपेर गोरक्ष दैनिकको जीसमाचार डट कम अनलाइनमा पोष्ट गरेँ । पत्रकारसम्मेलनको समाचार गोरक्षकर्मी लिलाधर वलीले म्यासेञ्जरमा पठाएका थिए, त्यो पनि पोष्ट गरेँ ।
दाङका अर्कामा पनि संक्रमण देखिएको विज्ञप्ति स्वास्थ्य मन्त्रालयबाट आयो । तेस्रो संक्रमी काठमाडौं बस्ने भन्ने भयो । फेरि को हुन् भन्ने अन्योलता शनिवार दिनभरसम्म रह्यो । दाङमै रहेका २ जनामा देखिएपछि जिल्लाको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसेर सबै पालिकामा क्वारेन्टाइन बेड थप्ने निर्णय गरेको छ ।
संक्रमण देखिँदाको दिनको छट्पटी सायद यो डायरीमा पनि व्यक्त गर्न सकेनझैँ लाग्यो । भोगाईलाई अक्षरमा उतार्न गाह्रो हुन्छ । कतिपय कुराहरु यस्तो समयमा छिपाउनुपर्ने पनि हुन्छ । अपुष्ट समाचारले एकातर्फ केही तयारी गर्न पनि मद्दत ग¥यो भने अस्वाभाविक छट्पटी पनि बोक्नुप¥यो दिनभर ।
सही र समयमा सूचना दिनुपर्ने दायित्व बोकेका पत्रकारहरु सधैँ समाचार पुष्टि नहुँदासम्म यसरी नै छट्पटाउनु पर्ने हुन्छ । यो त झनै महामारीसँग जोडिएको समयको कुरा भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!