ABC (क्राईमबिट)
काठमाडौं । माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताका कारण नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया लम्बिएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीका अनुसार १२ माघसम्म आचारसंहिता लागू भएकाले सरुवा बढुवा प्रक्रिया रोकिएको र राष्ट्रियसभाको निर्वाचनलगत्तै फेरी बढुवा प्रक्रिया सुरु गरिने उनले बताए ।
एसएसपीको उमेरहदका कारण नरबहादुर केसी, विक्रमबहादुर चन्द, हरिराज वाग्ले र सुदीपराज भण्डारीले अनिवार्य अवकाश पाएका थिए । त्यस्तै एसएसपी सुशीलकुमार यादवको निधन र पूजा सिंह प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि ६ जना एसएसपीको पद रिक्त छ ।
६ एसएसपीका लागि २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित दर्जन प्रहरी अधिकारी दौडमा छन् । विष्टबाहेक उनका व्याचका अर्का एसपी गणेश चन्द पनि एसएसपी बढुवाका बलिया प्रतिस्पर्धी हुन् । उनीहरू दुई जनाबाहेक अन्य सबै एसपी यसअघि नै एसएसपी बढुवा भइसकेका छन् । उनीहरू पछिका एसपीहरू ईश्वर कार्की, दानबहादुर कार्की, उमा चर्तुवेदी, राजन अधिकारी, बामदेव गौतम, सिद्धिविक्रम शाह, हिमालयन श्रेष्ठसमेत एसएसपीको दौडमा छन् ।
विष्ट कञ्चनपुर प्रहरी प्रमुख हुँदा निर्मला पन्तको बलात्कार तथा हत्याको प्रकरणमा बर्खास्तमा परेपछि उनी आफ्नो ब्याचको बढुवाको सूचीमा परेका हुन् । २० पुस २०७७ मा अदालतले निर्दोष रहेको फैसला सुनाएपछि विष्ट पुनर्बहाली भएका थिए ।दैनिक-न्युजबाट