२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

भारतबाट आलोको बोरामा धमाधम आउछ पैसै पैसा कसरी प्रहरी बेखबर ?

Logo
प्रकाशित बुधबार, साउन १८, २०७९

ABC (क्राईमबिट)
पर्सा । सीमावर्ती रक्सौलबाट आएका पूर्वी चम्पारणका २५ वर्षीय राकेशकुमारलाई प्रहरीले जाँचका लागि रोक्यो । उनले चलाएको बीआर०५एन ०२३८ नम्बरको मोटरसाइकलको सिटमुनि र ट्यांकीमा ४१ लाख ५५ हजार रुपैयाँ बरामद भयो ।
पर्साका एसपी रमेशकुमार बस्नेतका अनुसार स्रोत नखुलेको पैसा भारतबाट लुकाइछिपाइ भित्रिँदै गरेको प्रहरीलाई पूर्वसूचना थियो । राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
– स्थान जनकनन्दनी–१ इनर्वा, धनुषा, मिति असार २१ । सीमावर्ती भारतबाट नेपालतर्फ मोटरसाइकलमा आइरहेका थिए जनकनन्दनी–५ का ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल । उनीहरूका साथमा थियो आलुको बोरा । तर सशस्त्र प्रहरीको टोलीलाई शंका लाग्यो । रोकेर बोरा खोल्न लगाउँदा नगद ८३ लाख ६४ हजार रुपैयाँ बरामद भयो । इनर्वा बीओपीका इन्स्पेक्टर शम्भु कटुवालको टोली छक्क त पर्‍यो नै, यो घटनापछि उक्त क्षेत्रमा जाँच कडा पारियो ।

पक्राउ पर्नेमा राजेश घरै बसेका बेरोजगार युवक हुन् । घर खर्चका लागि आलु ल्याउने भन्दै उक्त दिन ईश्वरले राजेशलाई सँगै सीमापारि लगेका थिए । आलुको बोरामा रुपैयाँ राखेकोबारे आफूलाई केही थाहा नभएको दाबी राजेशले बयानमा गरेका छन् । ईश्वरले भने बहिनीको विवाहमा १५ लाख ऋण लागेपछि पछिल्लो ८ महिनादेखि नेपाली रुपैयाँ भारतबाट ओसार्ने काम गरिरहेको र जनकपुरसम्म पटक–पटक पुर्‍याएको बयान दिएको सशस्त्रका एसपी प्रकाशकुमार सुवेदीले बताए ।

ईश्वर र राजेश पक्राउ परेको तीन दिनपछि अर्थात् असार २४ मा प्रहरीले भारतीय मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गरेका बिहारको सीतामढी सोनवर्षाका अवधेश कुमारलाई सर्लाहीमा पक्राउ गर्‍यो । खुट्टामा लगाउने प्याडमा रुपैयाँ बाँधेर नेपाल छिर्दै गरेका अवधेशका साथबाट ५ लाख १० हजार ८ सय नेपाली रुपैयाँ बरामद भएको थियो । सोनवर्षाको मोबाइल पसलमा काम गर्ने अवधेशले दैनिकजसो भारतबाट स्रोत नखुलेको पैसा नेपालतर्फ ओसार्ने गरेका थिए । पसल सञ्चालकले दिएको नेपाली रुपैयाँ मलंगवामा तोकिएको व्यक्तिलाई बुझाएर उनी सोनवर्षा नै फर्किन्थे । दैनिक ज्यालादारीमा मोबाइल पसलमा काम गर्दै आएका अवधेशले ३/४ महिनादेखि नेपाली रुपैयाँ ओसार्ने भरियाका रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

सीमावर्ती भारतबाट नेपाल आइरहेकाहरूको साथबाट स्रोत नखुलेको ठूलो परिमाणको रकम बरामद भएका यी प्रतिनिधि घटना मात्रै हुन् । ०७८ माघ १६ मा प्रदेश २–०२–००१प०४८०८ नम्बरको अपाचे मोटरसाइकललाई नेपाल–भारत सीमाको नगराइन–२ जटही चोकमा प्रहरीले खानतलासी लियो । ट्यांकीभित्रबाट ३८ लाख ३५ हजार रुपैयाँ बरामद भयो । यस घटनामा धनुषाको लक्ष्मिनिया–२ सिंगरजोडाका २३ वर्षीय अमितकुमार यादव पक्राउ परे ।

उनी एक महिनापछि सोही वर्ष फागुन १६ मा भन्सार कार्यालय जनकपुरमा ४० लाख ४६ हजार जरिवाना बुझाएर तारेखमा छुटे । थुनामुक्त भएका यादव अहिले बेरोजगार छन् । भन्सार कार्यालयमा उनले आफू इँटाभट्टामा मजदुरी गर्ने गरेको र राम्रो कमाइ हुने लोभमा भारतबाट पैसा बोक्न पहिलो पटक गएको बयान दिएका छन् । भन्सार स्रोतका अनुसार उनलाई थुनामुक्त गराउन आवश्यक धरौटी रकम भारतबाट नेपाली रुपैयाँ ओसार्ने गिरोहले नै परिवारलाई उपलब्ध गराएका थिए । भन्सार कार्यालयमा अमितका मामा पर्ने नरेशकुमार यादवले जरिवानाको रकम बुझाएका थिए । यस घटनामा पक्राउ परेकाको बयानबाट प्रहरीले अमितको पछिपछि आइरहेको अर्को मोटरसाइकलले ४२ लाख रुपैयाँ ओसारिरहेको सूचना पाएको थियो । तर अमित पक्राउ पर्नेबित्तिकै त्यो मोटरसाइकल भारततिरै भाग्यो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मधेसका आठ जिल्लाबाट ०७८ साउनदेखि गत असार २४ सम्म मात्रै भारतबाट ल्याउँदै गरेको स्रोत नखुलेको ४ करोड ९६ लाख ७३ हजार ६ सय ८० रुपैयाँ बरामद भएको छ । यसमा सशस्त्रले ३ करोड १५ लाख २६ हजार ४ सय ४० र नेपाल प्रहरीले १ करोड ८१ लाख ४७ हजार २ सय ४० रुपैयाँ बरामद गरेको तथ्यांक छ । स्रोत नखुलेको धेरैजसो रकम बरामद सुराकीकै कारण मात्रै सम्भव भइरहेको छ । अवैध रकम ओसार्नेहरूबीचकै मनमुटावका कारण मात्र सूचना चुहिरहेको सशस्त्र प्रहरीका एक अधिकृतले बताए ।

भारतबाट कसरी नेपाली पैसा आइरहेको छ, त्यो पनि ठूलो मात्रामा ? प्रहरीसँग प्रस्ट जवाफ छैन । नेपालीले सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्दा जम्मा हुने रकम जम्मा पारेर भित्र्याएको हुन सक्ने नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूको अनुमान छ । नेपाली मुद्राको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक हो । बैंकका पदाधिकारी अनभिज्ञता प्रकट गर्छन् । ‘यसबारे हामी थाहा छैन, कुनै औपचारिक अनुसन्धान पनि भएको छैन,’ बैंकको जनकपुर शाखाका उपनिर्देशक अशोककुमार राईले भने, ‘सामान्यतया भारतीय बजारमा नेपालीले गर्ने किनमेलकै पैसा थुप्रिने हो । अन्य कुनै माध्यमबाट नेरु भारत जाँदैन ।’ कतिपय भारतीयले स्रोत नखुलेको रकम नेपालीमा साटेर राखेको र त्यसलाई नेपाल ल्याएको हुन सक्ने पनि उनको अनुमान छ ।

प्रहरी अधिकारीहरू भने किनमेलको रकम मात्रै भारतमा थुप्रिएको तर्कमा शंका गर्छन् । अवैध रूपमा हुन्डी कारोबार र अवैध सामग्रीको कारोबारसँग पनि यसलाई जोडेर हेर्नुपर्ने उनीहरूको तर्क छ । एक उच्च अधिकारीले संगठित सुन तस्करी, अवैध हातहतियार र लागूऔषधको कारोबारसँग यसलाई जोडेर हेर्नुपर्ने बताए । नेपालमा कालो धन कमाएर स्रोत खुलाउन नसकेपछि भारतमा लुकाएको र नेपालमा जग्गा खरिदबिक्री गर्न भारतबाट हुन्डीका रूपमा नेपाली रुपैयाँ आएको हुन सक्ने प्रहरीको अनुमान छ । यस्ता पैसा लुकाउने व्यापारी र राजनीतिक दलका व्यक्ति रहेको प्रहरीको दाबी छ । तेस्रो मुलुकबाट ल्याउने सामान खरिद र नेपालीले दिनहुँ भारतीय बजारमा गर्ने खरिदारीबाट नेपाली रुपैयाँ भारतमा थुप्रिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!