ABC (क्राईमबिट)
काठमाडौं । बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ईलाम, ईलाम नगरपालिका-१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई रहेका छन् ।
राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी उनीहरूबाट प्रतिव्यक्ति ३ लाख गरी जम्मा १५ लाख रुपैयाँ लिई ठगी गरी सम्पर्क बिहिन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।