१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

बाघको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा जंगलमा घास दाउरा गर्न जन पनि डर

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


(ABC-Sanchar)
बर्दिया । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश ग¥यो ।
बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भेरीगङ्गा नगरपालिका– ५ का वडाध्यक्ष प्रेमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रासमा बढेको गुनासो गरे । “एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डरारहेको अवस्था छ,” उनले भने, “निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपथ्र्यो ।”

मध्यवर्ती क्षेत्रमापर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । जङ्गलमा मानिसलाई आक्रमण गरेको तीन दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो । सोही बाघलाई बुधबार निकुञ्ज कर्मचारी, सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन् । प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन् । गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाए । उनले भने, “निकुञ्जमा बाघको सङ्ख्या धेरै छ, मानिसको सिकार खोज्दै जतिबेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन ।” मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ १२ वर्ष बूढो हो । बूढो एवं शारीरिक रुपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन् । जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रुपमा उद्वार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्वार केन्द्रमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताए । “उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,” उनले भने, “मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकी बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशुचौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो ।” गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो । बाघलाई बेहोस बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।

निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ । “गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौं,” प्रमुख संरक्षक अधिकृत श्रेष्ठले भने, “निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ ।” उनका अनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उनको भनाइ छ । निकुञ्ज कार्यालयले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ । प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नागरिक उन्मुक्ति पार्टिबाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी बर्खास्त भएपनि संरक्षक रेशम चौधरीले अब आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन् । बिहीबार मन्त्री चौधरीललाई मुख्यमन्त्री कमल शाहले बर्खास्त गरेपछि संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’जेलबाट हुण्डी खाने सर्वहाराहरु सामाजिक सञ्जालमा कराउँदैछन् ।’

दुम्किबासको विनयी खोलाको नव निर्मित पुलबाट यातायातहरु सञ्चालनमा आयो, चितवन । नारायणगढ बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ। ‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ । बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो। गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्‍याएपछि डाइभर्सन […]

बैतडी । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी डम्बर बहादुर बि.क.लगायत प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख, बैतडी जिल्लाका जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु सँग गृहमन्त्रीले छलफल तथा अन्तरक्रिया गर्दै जिल्लाको समग्र बस्तुस्थिती एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा जानकारी लिई सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमनचयन कायम गर्ने बारे […]

error: Content is protected !!