२९ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा नाकामा हुने अवैध गतिविधि रोक्न निर्देशन

Logo
प्रकाशित शुक्रबार, पुष २२, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ ।

बिहिबार मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोट्लर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघ लगायतका प्रतिनिधिसँग छलफल गरेको हो । सीमा ईलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रण कसरी गर्न सकिन्छ, भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफुहरु तयार रहेको बताउदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिवद्ध भएकोे उल्लेख गरे ।

छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानकासाथ समाधानको निश्कर्षमा पुग्ने संगठनको प्रयास रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले एक निकायको एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए ।

उनले यस प्रकारका अवैध कार्य रोक्न सीमा ईलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाई अघि बढ्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनैपनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाईकासाथ पालना गराउन सीमा क्षेत्रका युनिटहरुलाई निर्देशन समेत दिइएको बताए ।

कार्यक्रममा उल्लेखित संघ संस्थाका प्रतिनिधिहरुले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भएपनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजश्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धरासायी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताएका थिए ।

चोरीतस्करी रोक्नको लागि सरोकारवाला अन्य निकायसँगको समन्वय र नाकाबाट नै नियन्त्रण गर्ने कार्य प्रभावकारी हुनेमा छलफलमा उपस्थित उद्योग व्यवसायीसँग सम्बन्धित प्रतिनिधिहरुले जोड दिएका थिए । कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर रहेपनि अवैध रुपले ती वस्तु मुलुक भित्रेको खण्डमा उद्योग धरासयी हुनेमा पनि उनिहरुको चिन्ता थियो ।

व्यवसायीहरुले अत्याधुनिक स्रोतसाधनसहित सीमा ईलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानु पर्ने धारणा समेत व्यक्त गरेका थिए ।

छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा हटलाईन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको बताउदै यस प्रकारका रिर्पोटिङ सिधै मुख्यालयलाई गर्नसक्ने व्यवस्था गरिएको हुँदा अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सीमा नजिक पोल्ट्री फर्म र माछा पोखरी भएकोले अवैध रुपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको व्यवहारिक कठिनाई औंल्याउदै त्यसको उचित व्यवस्थापनको लागि सीमाबाट निश्चित दुरी तोक्नु पर्नेमा जोड दिए ।

यसैगरी प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले अवैध आयात हुनसक्ने नाकामा विशेष निगरानी राख्ने र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरुसँग त्यस क्षेत्रका समस्या र समाधानको उपायका बारे मुख्यालयमा छलफल चलिरहेका बेला सरोकारवाला अन्य निकायहरुसँग समेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सीमा ईलाकामा सशस्त्र प्रहरी बलको सकृयताको कारण अघिल्लो आर्थिक वर्षको यहि अवधि पुस १८ गते सम्मको तुलनामा यो आर्थिक वर्षमा ४० प्रतिशत बढि बरामदी दाखिला भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु र सुदूरपश्चिम प्रदेशस्थित नम्बर ७ बैद्यनाथ बाहिनीका निमित्त बाहिनीपतिको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । यहाँ एकपछि अर्को मेडिकल स्टोर खुलिरहेका छन्। यहाँ लाइसेन्सको कुनै अर्थ छैन। सेल्समेनको योग्यताको पनि कुनै मतलब छैन। उच्च भाडा र मोटो रकम तिरेर मानिसहरू मेडिकल स्टोर खोलिरहेका छन्। यहाँ ग्राहकको कमी छैन। लागूपदार्थको लतमा फसेका युवाहरू अरु युवालाई पनि लागूपदार्थ खुवाएर आफ्नो समूह बढाइरहेका छन्। मुख्य रूपमा बिक्री हुने लागूपदार्थमा नशालु औषधि, […]

सर्लाही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन्। उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्। जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी […]

दाङ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो […]

error: Content is protected !!