ABC (क्राईमबिट)
काठमाडौं । जति पटक जहाँ इन्चार्ज भएर गएपनि विवादमा आउने एसएसपी योगबहादुर पाललाई यसपटक आफ्नै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यौन दुर्व्यवहार जस्तो अपराध जन्य गतिविधि गर्ने एसएसपी पाललाई महिला कर्मचारीले उजुरी गरेकी छिन् ।
महेन्द्रनगर स्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालले गत शुक्रबार सहायक हवल्दारमाथि दुर्व्यवहार गरेका हुन । घटनापछि उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ, तर संवेदनशील विषयमा कानुनी प्रक्रिया अझै अघि बढाइएको छैन । उनलाई कारवाही नगर्न प्रहरी महानिरीक्षकलाई दबाब बढेको स्रोतले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका पाललाई यसअघि पनि विवादित पात्र हुन् ।
घटनाको छानविन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको भएपनि ठोस प्रमाण नभएको भन्दै पन्छिन खोजेको स्रोतले जनाएको छ । घटनाको तीन दिन हुँदासम्म प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बनको प्रक्रियासमेत सुरु गरेको छैन भने एसएसपी भन्दा तल्लो तहका अधिकृतको नेतृत्वमा छानबिन बनाएर ढाकछोप गर्ने प्रयास गरिएको छ । पीडित महिला प्रहरीलाई समेत जाहेरी नदिन दबाब परेको स्रोतले जनाएको छ । प्रहरीका प्रवक्ता कुवेर कडायतले एसएसपी पाललाई प्रहरी प्रधान कार्यालय तानिएको पुष्टि गरेका छन् ।
गत शुक्रबार एक सहायक हवल्दार बिदा स्वीकृत गरेर घर जान लागेकी थिइन । डीएसपी कृष्ण ओझाले उनको बिदा स्वीकृत गरेका थिए । त्यसबारे कार्यालय प्रमुख एसएसपी पाललाई जानकारी गराइयो । उनले सञ्चार सेटबाटै आदेश दिए, ‘बिदा जान लागेकी हवल्दारलाई मकहाँ पठाउनू ।’ एसएसपी पाल क्वार्टरमा थिए । आदेशअनुसार सहायक हवल्दार कोठामा पुगेपछि उनले भने, ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ ।’ यति भनेपछि महिला कर्मचारीले त्यही प्रतिवाद गरेर डिउटी अफिसरलाई यसको जानकारी गराएकी थिइन । त्यसपछि प्रदेश कार्यालयमा हल्लीखल्ली मच्चिएको थियो । यो विषयमा प्रहरी प्रधान कार्यालयले छानविन गर्ने बचन दिएपनि उनलाई तानेर मात्रै राखेको छ ।
राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएका अधिकांश अधिकृतको कार्यक्षमता कमजोर देखिँदै आएको छ । उनीहरू मध्ये पाल पटक–पटक कारबाही पनि भोगेका छन् । हाल एसएसपी रहेका योगबहादुर पाल त्यसरी स्थानान्तरण हुने मध्ये एक हुन्, जसले सुरुमा प्रहरीको इन्स्पेक्टरमा फर्म भरेका थिए ।
परीक्षामा असफल भएपछि राजनीतिक शक्तिका आधारमा गुप्तचरमा भर्ना भए । पछि चलखेल गर्दै प्रहरीमा स्थानान्तरण हुन सफल भए । बौद्ध वृत्तमा छँदा कारबाहीमा परेका उनी पछि सोलुखुम्बुमा हुँदा आचरणसम्बन्धी गम्भीर घटना बाहिरिएपछि सरुवा भएका थिए । त्यस्तै धादिङमा त्यहाँको क्रसर व्यवसायीसँग पैसा लिएको भन्दै उनलाई हेडक्वार्टरले कारवाही गरेको थियो ।
क्षमायाचना सहित सच्चयाइएको बारेः प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एसएसपी योग बहादुर पालको फोटो हुनु पर्नेमा केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एसपी योग बहादुर पालको तस्वीर यस समाचारमा प्राविधिक गल्तीबस पर्न गएकोमा उहाँमा पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दै सच्चाइएको छ ।