
(ABC-Sanchar)
काठमाडौं । नेपाल प्रहरीले सोमबार निकालेको ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा सिफारिस विवादमा परेको छ । ४६ जना इन्स्पेक्टरलाई डीएसपी बढुवा सिफारिस गर्दा कार्यसम्पादनमा उत्कृष्ट र बरिष्ठतामा अगाडि रहेका अधिकृतलाई छुटाएर चरम अन्याय गर्ने कार्य आईजीपी बसन्तबहादुर कुँवरले नै गरेका छन् । सोमबार गरिएको इन्स्पेक्टरबाट डीएसपी बढुवा सिफारिस हालसम्मकै सबैभन्दा विवादित बनेको छ । बढुवामा आर्थिक चलखेल, नातावाद र भेगीय प्रभाव हावी भएको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरी संगठनमा बरिष्ठता र कार्यसम्पादनमा उत्कृष्ट अधिकृतमाथि यस्तो अन्याय यसअघि कहिल्यै नभएको प्रहरीकै अधिकृत बताउँछन् । कार्यसम्पादनमा अब्बल रहेका १४ जना वरियता(मेरिट)मा टप २० नम्बरमा रहेका १० जनालाई छुटाइएको छ । मेरिटमा ४६ भित्र रहेका २६ जना इन्स्पेक्टरलाई विनाकारण बढुवाबाट बन्चित गरिएको छ ।
कार्यसम्पादनमा अब्बल र मेरिटमा अगाडि रहेता पनि नारायणकाजी श्रेष्ठ नेतृत्वको गृहमन्त्रालयले अन्याय गरी बढुवाबाट छुटाइएकाहरुमा इन्स्पेक्टरहरुमा दीपक मल्ल, ऋषिराम घर्तिमगर, आयुष जेशी, धनबहादुर बोहरा, लक्षमण ओली, बीरदत्त पन्त, गंगा सारु, प्रवीण कार्की, जनार्दन घिमिरे, पुरुषोत्तम कार्की हिरेन्द्रबहादुर रोकाया, निर्मल पनेरु, आशिष अधिकारी, शंकर आचार्य, इन्द्रजित इटनी, प्रताप पौडेल, टेकेन्द्र शर्मा पौडेललगायत छन् ।
मेरिटमा ४६ भन्दा पछि रहेका र चलखेलका आधारमा बढुवा भएका २६ जना
बरिष्ठताकै आधारमा आइजीपी भएका कुँवरले इन्स्पेक्टर बढुवामा विवादित र अभिलेखमा जनिनेगरी सचेत गराइएकाहरुलाई प्रमोसन गरेका छन् । मेरिटमा ४६ नम्बरभन्दा पछि रहेका कनिष्टहरुलाई बढुवा सिफारिस गरिएको छ । त्यसरी चलखेलका आधारमा बढुवा हुनेहरुमा निरन्जन भट्टराई (५० नं०) ज्ञानबहादुर खड्का (५१ नं), निशान थापा (५२), सुवास भट्ट (५३), रामकुमार राई (५६), नवराज ढुङ्गेल (६०), ईश्वरीप्रसाद भण्डारी (६२), टेकबहादुर रावत (६४), दिपेश बस्याल (६६), एलिजा गिरी (६९), दीपककुमार शाह (७८), बिकास थापा (७९), वीरेन्द्र कुमार पाशवान (८५) कमल बजगाई (८९), मुक्तिनाथ सापकोटा (९२), केशर न्यौपाने (९३), चन्द्रबहादुर थापा (९८), रिपेन्द्रकुमार (९९), सुरक्षा केसी (१०२), मिङमा शेर्पा (१०३), प्रकाश जवेगु (१०४), रुपा थापा (१०७), शंकर पोखरेल (११२) शुभद्रा वाईवा (१२०), विनोदकुमार सुनुवार (१२६), लक्ष्मी खनाल (१३०) छन् ।
बढुवामा एआइजी भण्डारीको चलखेल, आइजीपी किन भए निरीह ?
आईजीपी भनेको प्रहरीको अभिभावक हो, तर अभिभावकले नै बिधिबिधान सबै मिचेर गरिएको बढुवा सिफारिस सदर गरेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा ठगी गर्नेहरुलाई जोगाएको आरोप लागेका आईजीपी कुँवरको नैतिकतामाथि प्रश्न उठिरहेको छ । ठगी गिरोहका नाइके सानु भण्डारीले नै आईजीपीको सहयोग रहेको बयान दिइसकेका छ्न ।
इन्स्पेक्टर बढुवामा सबैभन्दा बढी चलखेल मानवस्रोत विभागका प्रमुख एआइजी सन्दीप भण्डारीले गरेका छन् । उनले आफ्ना आसेपासेहरुलाई समेत बढुवामा पार्न सफल भएका छन् । आईजीपी कुँवर भूटानी शरणार्थी प्रकरणमा जोडिएको लाभ मानव स्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीले उठाएका छन् । र, सरुवामा ब्यापक आर्थिक लाभ लिएको आरोप उनीमाथि लागेको छ । चलखेल र सेटिङमा सरुवा गरिएका प्रमाणहरु बाहिर आउँदैछन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत एआईजी भण्डारीकै सेटिङ अनुसार इन्स्पेक्टर बढुवा गर्न सहमति दिएका छन् । गृहमन्त्री श्रेष्ठले समेत भण्डारीकै कुरा सुनेर बरिष्ठ प्रहरी निरीक्षकहरुलाई बढुवाबाट छुटाई अन्यायको भागिदार भएका छन् । भूटानी शरणार्थी प्रकरणमा हाईप्रोफाइललाई पक्राउ गरी कानुनी कठघरामा ल्याएर प्रशंसा बटुलेका मन्त्री नारायणकाजीकै सचिवालयका शक्तिशाली महिला सुशन कर्माचार्य, उनको सचिवालयका सदस्य सुरेशकाजी श्रेष्ठहरुले समेत समेत आर्थिक चलखेल गरेको आरोप छ ।
१ सय ४, १ सय २६, १ सय ३० नम्बरका कनिष्टहरुलाई बढुवा गर्दा ३० लाख रुपैयाँसम्म उठाइएको स्रोतको दाबी छ । जबकि मन्त्री श्रेष्ठले प्रहरीका सरुवा बढुवामा चलखेल गरेको भेटिए जेल हाल्ने भाषण गरेको २४ घन्टा नबित्दै उनका निकट सुशन र सुरेशकाजीले बढाबढमा बढुवा गरेको खुलासा भएको छ । प्रहरीका अधिकारी भन्छन्–हावा नचली पात हल्लिन, इन्स्पेक्टर बढुवामा नांगो अनियमितता भएको छ ।
वर्तमान आईजीपी र एआईजीहरुका ब्याची हुन् मानवस्रोतका एआइजी भण्डारी । एसएसपी हुँदासम्म आईजीपी हुने ख्वाब राखेका उनी बल्लतल्ल एआईजी भएका थिए । उनी आईजीपी कुँवर, एआईजी दीपक थापा, श्याम ज्ञवाली, किरण बज्राचार्यहरुभन्दा ६ महिनाअघि नै अवकाश हुने भएकाले जसरी हुन्छ लाभ लिन उद्यत भएको कारबाहीमा परेकाहरुलाई गरिएको डीएसपी बढुवा सिफारिसले पुष्टि गरेको छ ।
कार्यक्षमतामा निकै कमजोर ६९ नम्बरमा रहेकी एलिजा गिरीलाई चार नम्बरमा ल्याइएको छ । पुल्चोकदेखि जहाँ बस्दा पनि पूरै समय इन्चार्ज चलाउन अक्षम भएर तानिएकी र अख्तियारमा समेत अनेक विवादमा परेकी चेतना पोखरेललाई वरियतामा ६ नम्बरमा ल्याइएको छ । एआइजी भण्डारीले एमाले नेताहरुको सिफारिसमा पोखरेललाई २५ बाट छैटौं वरियतामा ल्याएका छन् । नेपाल-बहस