ABC (क्राईमबिट)
बारा । जितपुर सिमरा उपमहानगरपालिका ७ बाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । बाराका एसपी होबिन्द्र बोगटीका अनुसार जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर–वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको हो।
सुराकको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।
बिहार २५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपालतर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ट्रक चालक र धनीको खोजी भइरहेको एसपी बोगटीले जानकारी दिए । गाँजा तस्करले सो गाँजा भारत तर्फ लैजान लागेको आशङ्का गरिएको छ।