
(ABC-Sanchar)
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र जहाज बिहीबारदेखि सर्वसाधारणका निम्ति खुला गरिएको हो । जहाज र हेलिकोप्टर राखिएपछि अवलोकनकर्ताको भिड बढेको छ ।
हेलिकोप्टर र जहाज राखिएको ठाउँ राजदरबारको मुख्य भवनको पछाडि हो । त्यस ठाउँमा घोडाको रेस हुन्थ्यो, त्यसबाहेक चेसलगायत विभिन्न खेल प्रतियोगिता हुन्थे । तर, अहिले उक्त चौरमा घाँस छ भने बीच भागमा हेलिकोप्टर र जहाज राखिएका छन् ।
हेलिकोप्टर र जहाज राखिएको चौरलाई वरिपरि तारबार गरिएको छ । जहाज र हेलिकोप्टर राखिएको ठाउँ पिच भए पनि दायाँबायाँ पानी भरिएको छ । सोही कारण सर्वसाधारणले नजिकैबाट जहाज र हेलिकोप्टर नियाल्न पाउँदैनन् । तर, दुई–तीन महिनामै चौरलाई पार्क बनाइने र फूल तथा बोटबिरुवा रोपिने सूचना अधिकारी थापाले बताए ।
उनले पछिल्लो समय जहाज र हेलिकोप्टर पनि अवलोकनका निम्ति खुला गरिएकाले आगन्तुकको संख्या बढ्ने बताए । ‘अहिले जहाज र हेलिकोप्टर अलि परैबाट मात्र हेर्न सकिन्छ, नजिकै जान ठाउँ व्यवस्थित छैन,’ उनले भने, ‘अब यसलाई व्यवस्थित बनाएर नजिकैबाट जहाज र हेलिकोप्टर अवलोकन गर्न सक्ने बनाउँछौँ ।’
नारायणहिटीमा दैनिक दुई हजारदेखि तीन हजारसम्मले अवलोकन गर्छन् । उनीहरूले दरबार क्षेत्रमा रहेका सबैजसो ठाउँ र वस्तु हेर्न पाउँछन् । त्यस्तै, नक्सालपट्टि रहेको गणतन्त्र स्मारक पनि अवलोकनका निम्ति खुला भइसकेको छ । नारायणहिटीकै शुल्क तिरेको टिकट प्रयोग गरी त्यहाँ छिर्न पाइन्छ ।
विगतका वर्षका तुलनामा पछिल्लो समय दरबार अवलोकनका लागि आउनेको संख्या बढेकाले यसलाई थप सजावट र व्यवस्थित बनाउन आवश्यक रहेको सूचना अधिकारी थापा बताउँछन् । उनका अनुसार बजेट सीमित हुँदा दरबार परिसरमा बिरुवा रोप्ने, सजाउने र फूल रोप्ने कार्य गर्न कठिन भइरहेको छ । नारायणहिटीमा प्रवेश गर्दा दुई सय रुपैयाँ शुल्क लिइन्छ । त्यस्तै, विद्यार्थीलाई ५० रुपैयाँ र ज्येष्ठ नागरिकका लागि शुल्क लाग्दैन । त्यस्तै, विदेशी पर्यटकलाई पाँच सय रुपैयाँ लाग्छ ।
पुराना संरचना मर्मत गर्नसमेत कठिन भइरहेको छ । तर, यसपटक सरकारले नीति तथा कार्यक्रममा दरबार परिसरमा रहेका पुराना संरचना पुनर्निर्माणलाई पनि समेटेकाले पुराना भवन पुनर्निर्माण हुने सूचना अधिकारी थापाको भनाइ छ । ‘दरबार परिसरमा रहेका केही पुराना संरचना पुनर्निर्माणका लागि सरकारले यसपटक कार्यक्रममा समेटेको छ,’ उनले भने, ‘पुरानै शैलीमा दरबार क्षेत्रमा रहेका संरचनाको संरक्षण गर्छौँ ।
सन् १९८१ मा बनेको हेलिकोप्टर : विपतमा प्रयोगदेखि राजापरिवारका सदस्यले तालिमसमेत लिए
दरबारमा राखिएको हेलिकोप्टर नेपाली सेनाको हो । यो हेलिकोप्टर १९८१ मा एरोसपटाइल कम्पनीले फ्रान्समा निर्माण गरेको थियो । यसले १३ जुन १९८२ देखि नाइन एन–आरएएफका रूपमा भिभिआइपी उडान गर्ने गरेको थियो । यो हेलिकोप्टर १ जुलाई १९९१ मा नेपाली सेनाको ११ नम्बर बाहिनी अड्डालाई हस्तान्तरण गरिएको थियो । नेपाली सेनाले यसलाई विशेष प्रयोजनमा प्रयोग गर्दै आइरह्यो ।
सेनाको गनसिप, तोराबोराका साथै अन्य हवाई मिसनमा यो हेलिकोप्टर प्रयोग गरियो । यसबाहेक नेपालमा हुने विपत्जन्य घटनामा पनि प्रयोग भयो । नेपाली सेनाले विपत् व्यवस्थापन, खोज, उद्धार, राहत वितरण र राजपरिवारमा हुने महत्वपूर्ण महोत्सव तथा समारोहमा प्रयोग गरेको थियो । यसबाहेक राजपरिवारका सदस्य घुम्न जाने साधन पनि यही थियो । महोत्सव तथा समारोहमा ब्यानर डिस्प्ले फ्लाइटका रूपमा यही हेलिकोप्टर प्रयोग गरिन्थ्यो ।
यो हेलिकोप्टरबाट नेपाली सेनाले नेपालमा हुने आधारभूत पाइलट तालिम लिन्थ्यो भने राजपरिवारका सदस्यले पाइलट सीप र तालिम लिने गरेका थिए । यसले १९ फेब्रुअरी २०१५ मा अन्तिम उडान गरेको थियो । यो हेलिकोप्टरले सञ्चालन अवधिभर नौ हजार सात घन्टा उडान भरेको छ ।
त्रिभुवन विमानस्थलमा ग्राउन्डेड गरेर राखिएको यो हेलिकोप्टर ०७६ देखि नारायणहिटी दरबार परिसरमा संग्रहका रूपमा राखिएको छ । राज परिवारले प्रयोग गरेको र विपत्जन्य घटनामा प्रयोग भएकाले यो हेलिकोप्टरलाई संग्रहालयमा राखिएको तथा यसलाई खिया लाग्न र थप बिग्रनबाट बचाइने नारायणहिटी दरबार संग्रहालय विकास समिति सूचना अधिकारी थापाको भनाइ छ ।
राजपरिवार यो हेलिकोप्टर लिएर हिमाली र पहाडी जिल्लामा समेत पुगेको थियो । काठमाडौं आसपासका नागार्जुन, शिवपुरीलगायत ऐतिहासिक ठाउँमा जाँदा यही हेलिकोप्टर प्रयोग हुन्थ्यो । ‘यो हेलिकोप्टर राजपरिवारका सदस्यले पाइलट तालिम लिन पनि प्रयोग गर्नुभयो,’ नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले भने, ‘निजी घुमघाम तथा अवलोकनमा जाँदा राजपरिवारका सदस्य यही जहाज र हेलिकोप्टर प्रयोग गर्नुहुन्थ्यो ।