२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रमुख राजनीतिक दलहरुको चियापान र शुभकामना आदानप्रदान कार्यक्रम

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । प्रमुख राजनीतिक दलले दसैंलगत्तै आयोजना गर्ने चियापान र शुभकामना आदानप्रदानले नेपाली राजनीतिको एउटा यस्तो संस्कार झल्काउँछ, जुन दक्षिण एसियाका राजनीतिक दलहरूमा विरलै पाइन्छ।

त्यो संस्कार हो — आपसी भाइचारा, सद्भाव र सौहार्दताको।

पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लागेका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले विभिन्न दलका नेता र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग राजनीतिक कुराकानी गर्ने रणनीतिक अवसरका रूपमा चियापान संस्कृतिको थालनी गरेका थिए। यसलाई नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन निरन्तरता दिँदै आएको छ भने अर्को प्रमुख दल नेकपा एमालेले मनमोहन अधिकारीका पालामा २०४८ सालबाट यस्तै कार्यक्रम गर्दै आएको छ।

२०४७ मा तत्कालीन नेकपा मार्क्सवादी र नेकपा मालेबीच एकता भएर नेकपा एमाले बनेको थियो। मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव थिए। त्यसै बेलादेखि एमालेले दसैं, तिहार, छठ र नेपाल सम्बतको अवसर पारेर शुभकामना आदानप्रदानसहित चियापान सुरू गरेको एमाले नेता अमृत बोहरा बताउँछन्।

यही परम्परालाई निरन्तरता दिँदै एमालेले बुधबार पाटनको च्यासलस्थित केन्द्रीय कार्यालयमा यस वर्षको चियापान आयोजना गर्‍यो, जसमा विभिन्न राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता चियापानमा पुगेका थिए। यही स्टोरीको आवरण तस्बिरमा नेपालका सबै प्रमुख दलका मुख्य नेता र पूर्वप्रधानमन्त्रीहरू सँगै बसेर प्रसन्न मुद्रामा कुराकानी गरिरहेका देखिन्छन्।

माधव नेपालले एमाले छाडेपछि उनलाई पहिलोचोटि पार्टीको यस्तो औपचारिक समारोहमा निम्ता गरिएको थियो। उनी रौतहट गएकाले सरिक भएनन्। त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकामा भएकाले उक्त समारोहमा उपस्थित थिएनन्।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपस्थित सबैलाई धन्यवाद दिए र भने, ‘म चियापानमा उत्साहजनक सहभागिताका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। तर थप राजनीतिक विषयमा कुरा गर्न चाहन्न। यो राजनीतिक कुरा गर्ने ठाउँ होइन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!