(एबिसि संचार )
युएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।
बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो।
एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए। ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन।
प्रवक्ता झाका अनुसार शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो। ‘ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको छ,’ उनले भने।यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ। ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको प्रहरी स्रोतले बताएको छ।(रास्स)