(एबिसि संचार ) सेटिङ’ मिलाएर भिजिट भिषामा विदेश पठाएको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौद्धस्थित एड्भिका टुर्स एण्ड ट्राभल्सका संचालक बुद्ध लामा र हुम्ला घर भएका २६ वर्षीय कमलराज हमाल छन् ।३२ वर्षीय बुद्ध लामा मकवानपुरको हेटौंडा उप महानगरपालिका–१० का स्थानीय हुन् । उनलाई मंसिर ३० मा बल्खुबाट र हमाललाई पुस २ मा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनीहरुलाई कानुनी कारवाहीका लागी प्रहरी वृत्त गौशालामा राखिएको छ ।नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाएको आरोपमा पक्राउ पर्नेहरुको संख्या ३६ पुगेको छ । पक्राउ पर्नेमा अध्यागमन र नेपाल वायुसेवा निगमका अधिकृतहरु पनि छन् । असोज १७ बाट प्रहरीले २४६ थान शंकास्पद पासपोर्ट संकलन गरेर त्यसबारे अनुसन्धान गरिरहेको छ ।