(एबिसि संचार ) नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ।संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभाबी म्याद नाघेका औषधि (फोहोर) फालेको भेटिएपछि नगरपालिकाले आज नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा. अस्मित आचार्यले बताए ।सडकमा जथाभाबी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासँगै तीन घण्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको छ ।नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको उपमहानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताए ।