(एबिसि संचार ) नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ। लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न थालेको हो।गत मङ्सिर १९ गतेदेखि अवैध रुपमा सञ्चालित ई–रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई–रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई–रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो।नष्ट गरिएका ई–रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भे १ स १५३१ र गाविस ०२ नम्बरका रहेका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले/नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए।उपमहानगरपालिकाले ई–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पुर्याउन आग्रह गरेको थियो। नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो।