काठमाडौं । नेपाल प्रहरीको प्रमुख जिम्मेवारी प्रहरी महानिरीक्षक दिपक थापाले बताएका छन् । 
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गरे ।
उनले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनसमेत निर्देशन दिए । महानिरीक्षक थापाले जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निमित्त आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षासँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
थापाले स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्ने बताएका थिए । अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।