दाङ । भलुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले भालुवाङ बसपार्क व्यवस्थित तथा अनियन्त्रित तरिकाले पार्किङ गरेका गाडीलाई सम्बन्धित ठाउँमा पार्किङ गर्ने वातावरण मिलाउन माग गरेका छन् । त्यस्तै उनीहरूले छाडा पशुचाैपाय नियन्त्रण, टाइम कार्डलाई दिउँसोमा पनि लागू गर्नुपर्ने, काठ तस्करी, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न तथा सरसफाइमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका थिए । सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक माझीले यातायात समिति र होटल व्यवसायी समिति सँगको सहकार्यमा बसपार्क र अनियन्त्रित गाडी पार्क रोक्न पहल गर्ने बताएका छन् । त्यस्तै उनले भालुवाङ पुल्चोकमा हेल्पडेक्स राखेर सेवा दिन स्थानीयको सहयोग आवश्यक रहेको बताए ।
साथै उनले आर्थिक वर्ष २०८१/०८२ को पुस १५ देखि चैत मसान्तसम्म कुल ६६ सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको र ९५ जना घाइते भएको जानकारी दिए । घाइते मध्ये ४ जना गम्भीर र ६२ जना सामान्य घाइते भएको बताए । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा कुल १३६ सवारी दुर्घटना भएकोमा १२ जनाको मृत्यु र १७८ जना घाइते भएका थिए । घाइते मध्ये ११ जना गम्भीर र १२५ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताए । त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ को पुस १५ देखि चैत १५ गते सम्मको रेकर्ड अनुसार कुल ७८ सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु र १२६ जना घाइते भएका थिए । घाइते मध्ये २ जना गम्भीर र ७६ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताउनु भयो । यसरी गत आर्थिक वर्ष २०८०/०८१ मा कुल १०५ सवारी दुर्घटना भएकोमा १८ जनाको मृत्यु र १४७ जना घाइते भएका थिए । घाइते मध्ये ६ जना गम्भीर र ९९ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताए ।
प्रहरी निरिक्षक माझीले आफू भालुवाङमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले पछि सवारी दुर्घटना न्युनीकरण गर्न स्थानीय तह र सरोकारवाला निकाय सँग नियमित बैठक, पालिकाबाट विभिन्न उपकरण प्रयोग गरि सवारी चेकजाँच, सचेतनामुलक कार्यक्रम, सवारी चालक, सडक प्रयोगकर्ता र यात्रुहरूलाई ट्राफिक नियम पालना गराउन प्रतिवद्वता सहितको हस्ताक्षर कार्यक्रम र भालुवाङ देखि सिंगे खोला सम्म टाइम कार्ड लागू गरेको बताए । प्रहरी निरिक्षक माझीले विभिन्न किसिमका ट्राफिक सचेतनामुलक कार्यक्रमले सडक प्रयोगकर्ता र सवारी चालकहरूमा ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सोचको विकास भएको बताए । त्यस्तै उनले सडकको अवस्था अनुसार सवारी साधानको गति नियन्त्रण, मोटरसाइकल चालकहरूले हेल्मेटको प्रयोगमा वृद्धि भएको र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउन नहुने कुराको ज्ञान भएको बताए । उनले सडक दुर्घटना न्युनीकरणका लागि सञ्चालन गरेको हस्ताक्षर संकलन कार्यक्रमबाट ट्राफिक नियम उल्ङ्घनमा कमी, सडक दुर्घटना न्युनीकरण गर्न सकिने सोचको विकास भएको समेत बताए । त्यस्तै उनले टाइम कार्ड लागू भएदेखि सवारी दुर्घटनामा कमी आएको, लेन अनुशासन कायम गरेको र मृत्यु दरमा कमी भई सडक अवरोध तथा शान्ति सुरक्षामा खलल पुग्ने कार्यमा समेत कमी आएको बताए ।