सोती घटनामा ६ जनाको हत्या उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्म कैदको सजाय सदर
सुर्खेत । वीरेन्द्रनगर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ ।
अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २४ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो ।
जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुमपश्चिमले दिएको आदेशलाई उच्चले बदर गरेको अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । उनले भने, ‘जातीय छुवाछूतबाट सबै प्रतिवादलाई सफाइ र केही उल्टी फैसला भएको छ । पूर्णपाठ आउन बाकी छ ।’
जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछूतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो ।
घटनामा ८ जनाले भने सफाइ पाएका थिए । जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए । ०८२ वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि सोती घटनामा मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।