दाङ । घोराही उपमहानगरपालिका १८ स्थित बयालडाँडा व्यायाम स्थलमा बयालडाँडा चौतारी क्लबको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
बलायडाँडा चौतारी क्लबका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा शनिवार साधारणसभा भएको हो । साधारणसभालाई सम्बोधन गर्दै उपप्रमुख डिसीले छोटो समयमै क्लबले रचनात्मक अभियान सञ्चालन गर्दै समुदायमा प्रभावकारी उपस्थिति बनाएको भन्दै प्रशंसा व्यक्त गरेकी थिइन् ।
समाजमा बढ्दो मानसिक स्वास्थ्य समस्या सुधारका लागि हरेक दिनको बिहानी हिँडाईसँगै योग साधना तथा मनोरञ्जनात्मक कार्यक्रमले मानसिक तथा शारीरिक स्वस्थतामा उल्लेख्य सुधारको काम भएको बताएकी थिइन् । २०८० सालमा स्थापना भएको क्लबले मोर्निङ वाक, योग साधना, साङ्गितिक तथा शारीरिक व्यायाम, खेलकुदलगायतका विविध कार्यक्रममार्फत् स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ सयौँलाई आवद्ध गराएर मानसक शारीरिक स्वस्थतासँगै विभिन्न प्राकृतिक सम्पदाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने गरी विभिन्न कार्य गर्दै आएको क्लबका अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले बयालडाँडा चौतारी क्लबले मानसिक, शारीरिक स्वस्थतासँगै सामाजिक क्षेत्रमा अग्रसर भई गरिरहेको काम सराहनीय रहेको बताएका थिए । साधारणसभामा घोराही उपमहानगरपालिका–१८ का वडा अध्यक्ष भरतमणि अर्याल, वडा सदस्य किरण पौडेल, नेपाल उद्योग व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य धुवराज श्रेष्ठ ‘भारी’, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैया, चिस्नुपानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुली, नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य छवि पुरी, मोबाइल तथा इलोक्ट्रिनिक व्यवसायी संघ घोराहीका अध्यक्ष शालिकराम खनाल, सुनकोट देउराली क्लवका अध्यक्ष प्रकाश अधिकारी, फेन्सी व्यवसायी समितिका अध्यक्ष निरञ्जन श्रेष्ठ, वातावरण तथा दिगो विकास संरक्षण सरोकार समिति बंगालाचुलीका अध्यक्ष सुशील परियारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबको हालसम्मका गतिविधि, आगामी योजना र समुदायसँगको सहकार्यलाई विस्तार गर्ने योजनाका बारेमा संस्थागत जानकारीसमेत गराइएको थियो । क्लबको उपाध्यक्ष हुर्मतबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मधुसुदन रावतले गरेका थिए ।