सुनसरी । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) विरोध खतिवडाको मृत्यु भएको छ । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा असई खतिवडाको मृत्यु भएको हो ।
त्यस्तै दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोकि्कएर दुर्घटना भएको थियो ।
इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा-८ राजाबासका ३० वर्षका खतिवडाको मृत्यु भएको जानकारी दिए ।
टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर भएका खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
चालकको छोरी वर्ष १४ की रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।