दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकता दिएको स्पष्ट पारे।
उनले प्रदेश सडक गुरु योजना निर्माण गरिएको र सोही प्राथमिकताका आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए। “परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन। साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेका छौँ,” उनले भने, “साना सडकमा स्थानीय सरकारले लगानी गर्ने र मझौला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएका छौँ।” सामाजिक सञ्जालमा पछ्याउनुहोस्
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन् र अहिले तीमध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्ने गरी योजना अघि बढाइएको छ। धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो सडकलाई बृहत् सडकको रूपमा प्राथमिकतामा राखिएको र संघीय सरकारसँग समेत पहल भइरहेको उनले जानकारी दिए।
उक्त सडक प्रदेश राजधानीसँग जोड्ने सहज मार्गको रूपमा रहने र नागरिकलाई पहुँच सुनिश्चित गर्ने उनको भनाइ थियो। सरकारले बनाउने पूर्वाधारहरू नागरिकको जीवनस्तर उकास्नका लागि केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए।
शितगंगा नगरपालिका-११ का वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ, कपिलवस्तु र अर्घाखाँचीको संगमस्थल क्षेत्र पर्ने भएकाले विकास निर्माणको कामलाई थप उचाइमा पुर्याउन जोड दिइएको थियो।
मुख्यमन्त्रीद्वारा आयोजनाको अनुगमन
यसैबीच, मुख्यमन्त्री चेतनारायण आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पुल, तटबन्ध, सडक योजना तथा विद्यालय क्षेत्रको अनुगमन गरेका छन्।
संघीय सरकारको लगानीमा निर्माण भइरहेको रङ्गसिङ खोला पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ।
बाढीले कटानको जोखिम बढाउने भएकाले तटबन्धको योजना अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ। त्यस्तै, विद्यालयमा कक्षाकोठा थप गर्नुपर्नेलगायत विषयमा पनि अनुगमन गरिएको थियो।