पर्सा । बिरगंज मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीले पर्सा जिल्लामा प्रहरी संगठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा जेठ ४ गते साँझ आयोजित कार्यक्रममार्फत डिआईजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, भन्सार छलि रोकथाम, फरार अभियुक्त खोजी र सवारी दुर्घटना न्यूनीकरणलगायतका विषयमा रणनीतिक निर्देशन दिनुभयो।
उहाँले प्रहरी परिचालनलाई थप अनुशासित, व्यवस्थित र सजग बनाउनु पर्नेमा जोड दिँदै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि समन्वय र प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। फरार अभियुक्तहरूको पहिचान र पक्राउ प्रक्रिया तीव्र बनाउन र लामो समयदेखि पेन्डिङ मुद्दाहरूको फर्छोटमा प्राथमिकता दिन निर्देशन दिनुभयो।
सवारी दुर्घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, ट्राफिक निगरानी र कडाइका साथ कानुनी कार्यान्वयन आवश्यक रहेको चतुर्वेदीको भनाइ थियो। साथै, प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि मनोसामाजिक सशक्तिकरण कार्यक्रम तत्काल लागू गर्नुपर्ने सुझावसमेत दिनुभयो।
निरीक्षणका क्रममा डिआईजी चतुर्वेदीले प्रहरी कार्यालयका विभिन्न शाखाहरू, हिरासत कक्ष, मेस, क्यान्टिन र ब्यारेकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै सुधारका लागि आवश्यक सिफारिसहरू गर्नुभएको थियो। उहाँले जनमैत्री सेवा प्रवाह र प्रहरी आचरणमा पारदर्शिता आवश्यक रहेको समेत औँल्याउनुभयो।
कार्यक्रममा सहभागी प्रहरी अधिकृतहरूका अनुसार डिआईजी चतुर्वेदीको निरीक्षण तथा स्पष्ट रणनीतिले संगठनमा नवीन ऊर्जा र प्रतिबद्धता थपिएको छ। उहाँको नेतृत्वले मधेश प्रदेशको प्रहरी सेवा जनउत्तरदायी, सक्षम र परिणाममुखी बनाउन ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ।