काठमाडौं । नेपाल प्रहरी कार्यरत प्रहरी विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी शेर्पालाई बुधबार बसेको नेपाल प्रहरीको बढुवा समितिको बैठकले प्रहरी नायव निरीक्षक (सई) मा विशेष बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको अध्यक्षतामा बसेको उक्त बैठकले शेर्पाको अद्वितीय योगदानलाई सम्मान गर्दै संगठनको नाम र गौरव उजागर गरेको ठहर गर्दै विशेष बढुवाको सिफारिस स्वीकृत गरेको बताइएको छ ।
तर मंगलबार कैलालीमा एकजना गर्भवती महिलालाई सडकमा नै सुरक्षित प्रसूति गराएर आमाछोरीको ज्यान बचाउने प्रहरी जवान चन्द्रिका देउवालाई भने केवल अभिलेखमा मात्र जनिने सम्मान दिइएको छ ।
गोदावरी नगरपालिका–१, बसन्तपुरमा सडकमा छटपटाइरहेकी बझाङ थलारा गाउँपालिका–३ की चन्द्रा आचार्यको उद्धार गर्दै प्रहरी जवान देउवाले पद्मा अस्पतालसम्म पुर्याई सुरक्षित रूपमा शिशुको जन्म गराएकी थिइन् ।
उनको मानवीय र साहसी कार्यले जनमानसमा प्रशंसा त पाएको छ तर संगठनबाट विशेष बढुवाको निर्णय नहुँदा सामाजिक सञ्जालमा चर्को बहस चलेको छ ।
प्रहरीप्रति नागरिकहरुमा वितृष्णा बढेका बेला जवान देउवाको उक्त कार्यले प्रहरीको प्रशंसा हुन थालेको छ ।