स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछाने कारागारमा रहे पनि आगामी महाधिवेशनमा सभापति र २०८४ को निर्वाचनमा बहुमत प्राप्त भएमा प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै हुने दाबी गरेका छन् ।
वालिङ नगर समितिले स्याङ्जामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘रवि लामिछानेलाई जेलमा राखे पनि हाम्रो सभापति उहाँ नै हुनुहुन्छ । ०८४ मा हामीले बहुमत ल्यायौँ वा सबैभन्दा ठुलो दल भयौँ भने प्रधानमन्त्रीको उम्मेदवार पनि रवि लामिछाने नै हुनुहुनेछ ।’
उनले सत्तारुढ दलहरूले रास्वपालाई अदालतमा अल्झाएर कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए । ‘उनीहरूलाई लाग्छ, रविलाई अदालतमा अल्झाएर हराउन सकिन्छ। तर, उहाँ चाँडै काठमाडौं सरुवा हुँदै हुनुहुन्छ। हाम्रो संवाद र रणनीति झन् सशक्त हुनेछ,’ वाग्लेले भने ।
उनले रास्वपाले कुनै पनि राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पार्दै पार्टी आफ्नो सिद्धान्त र लक्ष्यमा अडिग रहने बताए । कार्यक्रममा वाग्लेले कार्यकर्ताहरूलाई एकजुट भएर अगाडि बढ्न र पार्टीको सन्देश जनतामाझ पुर्याउन आह्वान गरे ।