काठमाडौं । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको मागबमोजिम उत्प्रेषणको आदेश दिएको हो । यो आदेशसँगै अब पाण्डे पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् ।
गत चैत २१ आफूलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई जेठ ६मा ७ बुँदे स्पष्टीकरण साेधेका थिए । जुन स्पष्टीकरण चित्तबुझ्दाे नभएकाे भन्दै उनले जेठ २० मा ६ महिनाका लागि निलम्बनको पत्र थमाएका थिए ।
महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । साेही व्यवस्थालाई टेक्दै उनले यस्ताे कारबाही गरेका थिए । तर, उनकाे कारबाहीलाई अदालतले मनासिब आधार नभएकाे बताएकाे छ । जाँचबुझ समिति बनाउँदैमा निलम्बनकाे निर्णय गर्न नपर्ने अदालतकाे आदेश छ ।