२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

कारागारमा रहस्यमय मृत्यु छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली धनगढीमा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

धनगढी । कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् ।

‘विशेष टोली ५ असारमा धनगढी आइपुगेको हो अहिले घटनास्थल तथा सम्बन्धित निकायसँग सम्पर्क गरी प्रमाण सङ्कलनको काम भइरहेको छ’, प्रहरी उच्च स्रोतले भन्यो, ‘उक्त टोलीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत नायब निरीक्षक (सई) हरजीत नाथमाथि नै मृतकका परिवारले आरोप लगाएपछि अहिले प्रहरीले यसलाई गम्भीर ढङ्गले लिइरहेको छ । पालीकी श्रीमती जानकी साउँदले सई नाथविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा उनलाई पक्राउ गरी हाल हिरासतमा राखिएको छ ।

सई नाथले पालीविरुद्धको मुद्दा दर्ता गराएका थिए । जसमा जिल्ला अदालत डडेल्धुराले २०८० फागुनमा उनलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही फैसलाअनुसार पाली डडेल्धुराबाट पक्राउ परेका थिए ।

उनलाई असार १ गते अदालतमा पेस गरी कैलाली कारागार चलान गरिएको थियो। तर, भोलिपल्टै असार २ गते राति साढे १० बजेतिर उनको मृत्यु भएको थियो । प्रहरीले तत्काल सेती प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा सोही राति उनको मृत्यु भएको बताउँदै आएको छ । तर मृतकका परिवारहरूले उनको हत्या गरेको बताउँदै आइरहेका छन् ।

मृतकका शरीरमा नीलडाम र चोटपटक देखिएका छन् । जसका कारण मृतकका आफन्तहरूले उनको यातना दिएर हत्या गरेको आरोप लाएका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले सूक्ष्म अनुसन्धान भइरहेको भन्दै दोषीमाथि कारबाही हुने समेत बताएको छ ।

‘केन्द्रको टोलीले र जिल्लाको टोलीले पनि घटनको छानबिन गरिरहेको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह रानाले भने, ‘सत्य तथ्य छानबिन पछि दोषीमाथि कारबाही हुन्छ ।’

उनले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै केही दिन भित्रै सत्य तथ्य सार्वजनिक हुने बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । उक्त समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लोकराज भट्ट सदस्य छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

‘हामीले घटनाबारे छानबिन गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता समेत रहेका छानबिन समितिका सदस्य प्रहरी नायब उपरीक्षक सिंहले भने, ‘निष्पक्ष छानबिन हुन्छ । सत्य तथ्य सार्वजनिक हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]