काठमाडौं । पछिल्लो ६ महिनाभित्र मुलुकका ७३ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मनाङ, रसुवा, डोल्पा र हुम्ला बाहेकका जिल्लामा संक्रमण देखिएको छ। मुलुकका सातैवटा प्रदेशमा कुल १ हजार ५ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘आम जनसमुदाय सजग हुनुपर्ने खाँचो छ,’ डा. बुढाथोकी भन्छन्, ‘राजनीतिक दल, दलका भ्रातृ एवं भगिनी संगठन र युवा कार्यकर्ताहरू पनि सहरबजारमा सरसफाइ अभियानमा खटिन अपिल गर्दछौं।’ विगतका वर्षमा असोज/कात्तिक महिनामा ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको थियो। संक्रमणको ‘पिक सिजन’ आउन लागेकाले अन्य जिल्लामा पनि संक्रमण विस्तार हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।