पर्सा । बिरगंज सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालले जानकारी दिए ।
धिमालका अनुसार, गत आर्थिक वर्षभरिमा भन्सार छली गरेर ल्याइएका १४ करोड ९९ लाख ५ हजार ५२८ मूल्य बराबरका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो भने चालु आवको ११ महिनामै सो परिमाण झन्डै दुई गुणाले वृद्धि भई २७ करोड ५६ लाख ५६ हजार ४८७ मूल्य बराबरका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएका छन् ।
धिमालका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयसँगको सहकार्यमा शङ्कास्पद गोदामहरूको अनुगमन र सघन निगरानीमार्फत भन्सार छलीका सामान बरामद गर्ने कार्यमा तीव्रता दिएको छ ।
सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको जेठ १० गतेसम्मको अवधिमा मात्रै १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरको बिलबीजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । अघिल्लो आर्थिक वर्षको १९ करोड ३८ लाख २९ हजार ७५६ को तुलनामा केही कम भए पनि कार्यरत सुरक्षाकर्मीको सक्रियता उल्लेखनीय देखिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले १ करोड १५ लाख ९४ हजार ५२२ रुपैयाँ बराबरको स्रोत नखुलेको रकम (हुन्डी) पनि बरामद गरेको छ । अघिल्लो वर्ष उक्त परिमाण ७९ लाख २६ हजार २६५ रुपैयाँ मात्र थियो ।
सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षमा ४२ लाख रुपैयाँ बराबरको १ हजार ५ सय ९६ क्युफिट काठ बरामद गरेको छ । गत वर्ष १ हजार ५ सय ५४ क्युफिट काठ बरामद गरिएको थियो जसको मूल्य ४० लाख ९३ हजार ३५५ रुपैयाँ थियो ।
एसपी धिमालका अनुसार, पछिल्लो समय सीमा नाकामा सिसिटिभी क्यामेरा, तालिमप्राप्त कुकुर, र प्राविधिक जनशक्ति परिचालन गरिएकाले चोरी–पैठारी नियन्त्रणमा ठुलो सफलता मिलेको हो ।