काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तल्लो तहका रिक्त पदमा धमाधम बढुवा गरेको छ । पछिल्लो एक महिनामा सशस्त्र प्रहरी सहायक हवल्दारसम्देखि सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकसम्म २ हजार १ सय ९६ जनाको बढुवा भएको छ ।
बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमुहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।
मुख्यालयले बढुवा हुनको लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको हो ।
बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया शुरु हुने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।