मधेस प्रदेश । प्रहरी कार्यालयले महोत्तरीको गौशाला इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम सिंह भण्डारीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको छ ।
व्यापारीहरूसँग जबरजस्ती रकम असुली, चेक अनादर मुद्दामा आर्थिक लाभ लिएको र बिचौलियामार्फत अनैतिक रूपमा रकम सङ्कलन गरेको गम्भीर आरोपमा उनीहरूमाथि छानबिन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र कुमार भट्टका अनुसार, इन्स्पेक्टर भण्डारी, प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका लागि जनकपुरस्थित नेपाल प्रहरीको गणमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानमा भण्डारीले महतो र विश्वकर्मालाई ‘घुमुवा’ प्रहरीको रूपमा प्रयोग गरी अनैतिक गतिविधि सञ्चालन गरेको पाइएको छ ।
आरोपअनुसार, गौशाला इलाका प्रहरी कार्यालय परिसरमा दिनहुँ छलफलको बहानामा बिचौलियामार्फत रकम सङ्कलन हुँदै आएको थियो । लामो समयदेखि गौशालामा कार्यरत दुवै प्रहरी जवानहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीका सादा पोसाकका (घुमुवा) प्रहरीले संरक्षण दिएको अनुसन्धानमा खुलेको छ ।