१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङमा पत्रकारितामा लैङ्गिक संवेदनशीलता अपरिहार्य,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउनुभएको छ । पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा आयोजना गरेको सञ्चार क्षेत्रमा पत्रकार महिलाको सुरक्षित वातावरण निर्माण सम्बन्धी प्रारम्भिक परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै सचिव प्रियासनले सञ्चारकर्मी महिला र पुरुषबीचको समानतामूलक व्यवहार मात्र सशक्त पत्रकारिताको माध्यम बन्ने बताउनुभयो । उहाँले महिलाहरूको पेशागत, भौतिक, मानसिक, सामाजिक र समग्र सुरक्षाको सवाललाई सञ्चारमाध्यमहरूले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “पत्रकार महिलाहरूको आवाज बुलन्द हुन नसक्नु, भयरहित वातावरण नहुनु र उनीहरूलाई सशक्त रिपोर्टिङ गर्नबाट रोक्नु– यी सबै समस्या लैङ्गिक असमानताको उपज हुन्,” उहाँले भन्नुभयो, “अब यस्ता संरचनात्मक असमानता तोडेर अघि बढ्नुपर्छ ।”

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले पत्रकार महिलाहरूका सवालहरू कुनै महिलामात्रको एजेन्डा नभई पत्रकार महासंघको साझा विषय भएको स्पष्ट पार्नुभयो । उहाँले विगतका दिनहरूमा कार्यालयमा लैङ्गिक आधारमा विभेद, दुव्र्यवहार, असुरक्षा र हेपाहा प्रवृत्ति रहेको प्रसङ्ग उल्लेख गर्दै अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूबाट पत्रकार महिलाहरूलाई होच्याउने, बदनाम गर्ने र आक्रमण गर्ने प्रवृत्ति झन बढेको बताउनुभयो । शर्माले भन्नुभयो, “डिजिटल माध्यमबाट महिला पत्रकारमाथि हुने साइबर हिंसा झन गम्भीर बन्दै गएको छ । यस्तो अवस्थामा लैङ्गिकसम्वेदनशीलता र समावेशी पत्रकारिता नितान्त आवश्यक भएको छ ।” उहाँले महासंघ लुम्बिनी प्रदेश समितिले समावेशी पत्रकारिता, लैङ्गिक सन्तुलन र समान अवसरका विषयमा रणनीतिक योजना तयार पारेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकार महिलाहरूको पेशागत यात्रा निरन्तरता दिन चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कार्यस्थलमै हुने लैङ्गिक विभेद, पारिवारिक जिम्मेवारीको दोब्बर बोझ, सामाजिक धारणाको प्रभाव, संस्थागत असहयोगजस्ता कारणले महिलाहरू पत्रकारितामा लामो समय टिक्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै पत्रकार महिला मञ्च दाङकी अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महिलाहरूका विविध चुनौतीहरूबारे चर्चा गर्दै समाधानका उपायहरू खोज्न सामूहिक प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । “महिलाहरूका लागि सुरक्षित कार्यस्थल, अनुकूल वातावरण, अवसर र न्यायोचित पहुँच सुनिश्चित नगरी लैङ्गिक समानताको सपना पुरा हुँदैन,” उहाँको भनाइ थियो ।

मञ्चकी उपाध्यक्ष सुशीला आचार्यले पत्रकार महिलाहरू कार्यस्थलमा मात्र नभइ घरपरिवार र समाजबाट पनि निरुत्साहित हुने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले पारिवारिक समर्थन नपाउनु, समाजको पुरातन सोच, ‘महिलाले धेरै अगाडि बढ्नु हुँदैन’ भन्ने मानसिकता जस्ता कुराहरू महिलाको आत्मविश्वासलाई कमजोर बनाउने खतरा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष वसुन्धरा गौतमले महिला पत्रकारहरूलाई निर्णय तहमा पुर्‍याउन संस्थागत नीतिगत प्रबन्ध आवश्यक भएको बताउनुभयो । “केवल सहभागिता होइन, प्रभावकारी सहभागिता हुनुपर्छ । सम्पादन तह, नेतृत्व तह, निर्णय तहमा महिला पुग्दा मात्र संरचनागत परिवर्तन सम्भव हुन्छ,” उहाँको भनाइ थियो ।

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोखरेलले पत्रकार महिलाहरूमाथि हुने मानसिक हिंसा, शब्दीय आक्रमण, बहिष्करण र उपेक्षा अन्त्य गर्न मानव अधिकारको दृष्टिकोणबाट पनि खबरदारी आवश्यक भएको बताउनुभयो ।

मञ्चकी सल्लाहकार शारदा शर्माले पत्रकार महिलाहरूका क्षमता र आत्मबलको सम्मान गर्दै उनीहरूलाई सशक्तीकरणतर्फ उन्मुख गराउनु जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य पत्रकार तथा अधिकारकर्मीहरूले पनि पत्रकार महिलाहरूको सुरक्षाका विषयमा गम्भीर छलफल गर्दै साझा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको विषयवस्तुमाथि प्रदीप मज्गैँयाले प्रकाश पार्दै पत्रकार महासङ्घ प्रेस काउन्सिल लगायतका निकायहरूमा लैङ्गिक संवेदनशीलताकाे विषयमा उल्लेख नगरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!