दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार लागुऔषध कारोबारीहरु मोतिपुरस्थित जंगलको छेउमा भिरालो ठाउँमा लुकेर लागुऔषध ब्राउनसुगर बिक्री गरिरहेका थिए । सोही क्रममा पुगेको बरिष्ठ हवल्दार बराइलीसहितको प्रहरी टोलीले उनीहरुलाई पछ्याइरहेको थियो । उनीहरुले लागुऔषध बिक्री गर्न लागेको प्रत्यक्ष देखेपछी उनीहरुलाई समात्न प्रहरी अगाडी बढ्यो । त्यहा ३ जना लागुऔषध कारोबारीहरु थिए ।
प्रहरीलाई देखेपछी उनीहरुमध्य एकजना अर्को तर्फबाट भाग्न थाले । केही परबाट उनी पक्राउ परे । तर, अन्य दुईजना भने साथमा भएको केही लागुऔषध भुइमा खसाले र अरु मुखमा राखेर नजिकैको भिरबाट हाम फाले । त्यसपछी बरिष्ठ हवल्दार बराइली पनि उनीहरुसँगै माथीबाट हाम फालेर दुबैजनालाई समात्नुभयो । तर, उहाँको खुट्टामा धेरै चोट लागेकाले उठ्न नसकेपछी समातेका उनीहरु भागे । पक्राउ परेका एकजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । उनको साथबाट केही लागुऔषध पनि बरामद भएको छ । घटनामा संगल्न अरु दुईजनाको खोजी भइरहेकाले पक्राउ परेका व्यक्तीको नाम गोप्य राखिएको छ । उनीहरु सबैलाई पक्राउ गरेपछी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसरी आफ्नो जिउज्यान नै जोखिममा राखेर संगठनको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्दै आएका बरिष्ठ हवल्दार बराइली धेरै पटक उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कारसहित सम्मानित भइसक्नुभएको छ । उहाँको लगनसिलता र मेहनतको उच्च मुल्यांकन गरि संगठनले उहाँलाई बेलाबेलामा पुरस्कृत गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत बराइली लागुऔषध कारोबारी तथा अन्य अपराधिक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गर्न सक्रीय हुनुहुन्छ । अपराधिक कृयाकलापमा संलग्नहरुलाई पक्राउ गरेर उहाँले तुलसीपुरमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ । देब बराइली भेनेपछी अवैध काम गर्नेहरु लागुऔषध प्रयोगकर्ता तथा कारोबारीहरुको मुटु काप्ने गर्छ । तुलसीपुरमा विभिन्न समयमा हुने चोरी, लुटपाट, खुडा प्रहार, रड प्रहार, खुकुरी प्रहारलगाएतका घटनामा संलग्नहरुलाई खोजीखोजी पक्राउ गर्नेमा उहाँनै अग्रपन्तीमा हुनुहुन्छ । ड्युटीकै सिलसिलमा हिजो लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएका बराइली उपचार पछी डाक्टरको सल्लाह अनुसार अहिले घरमै आराम गरिरहेको डिएसपी ठकुरीले बताउनुभयो । उहाँको खुट्टाको लिगामेनमा चोट देखिएको छ ।