काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ।
नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज रूपमा उपभोग गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन।
हाल नेपाल प्रहरीले विभिन्न अनलाइन सेवा जस्तै अनलाइन उजुरी दर्ता, ट्राफिक जरिवाना विवरण, हराएका/फेला परेका सामग्रीहरूको विवरण, भेरिफिकेसन प्रणाली लगायतका सुविधा डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ।