दाङ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी दाङले गम्भीर आपत्ति जनाएको छ । संघले मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत संघले संघीय कानुन मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
संघकी अध्यक्ष लक्ष्मी शर्माको हस्ताक्षर रहेको ज्ञापनपत्रमा बहुविवाहलाई वैधता दिने हालको प्रस्तावले महिला अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायविरुद्ध गम्भीर खतरा उत्पन्न गर्ने उल्लेख गरिएको छ ।
२०७५ साल भदौ १ गतेदेखि लागु भएको कानुनअनुसार पूर्ण रूपमा निषेध गरिएको बहुविवाहलाई फेरि संशोधनमार्फत पुनः वैध बनाउने तयारीले पितृसत्तात्मक संरचनालाई कानुनी संरक्षण दिने खतरनाक संकेत देखिएको संघको दाबी छ ।
संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बहुविवाहसम्बन्धी कानुनी संशोधनको प्रयास तत्काल फिर्ता लिन माग गर्दै, महिला समानताको मर्म र संवैधानिक अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।