१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

ड्युटीमा रहेका प्रहरीलाई सडकमै मन्त्री पाण्डेयले सडकमा जाँच नगर्न भन्दै थर्काउदै चिट खोसेपछि

Logo
भगवती पाण्डे प्रकाशित शुक्रबार, साउन २३, २०८२

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काउने क्रम रोकेका छैनन्।

ड्युटीमा रहेका प्रहरी कर्मचारीको हुर्मत लिन्छन् प्रदेश सांसद पाण्डेय

पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी मन्त्री हुनु अघिदेखि नै जाँचका नाममा प्रहरीले भारतीय पर्यटकहरू दुःख दिएको भन्दै सडकमै आएर आफूहरूलाई थर्काउने गरेको प्रहरीको गुनासो थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाण्डेयलाई गत साउन ११ गते प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए।

लुम्बिनी प्रदेशमा हालसम्म चार पटक मन्त्री बनिसकेका पाण्डेयले विशेषगरी भैरहवा क्षेत्रमा आउने भारतीय गाडी जाँच गरेको भन्दै सडकमा खटिने प्रहरीलाई थर्काउने र काम गर्न निरूत्साहित गर्ने गरेको साना दर्जाका प्रहरीहरूको गुनासो छ।

गत मंगलबार ट्राफिक प्रहरी सहित जिल्ला प्रहरी कार्यालय रूपन्देहीको कमान्डमा भइरहेको जाँच क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेको भन्दै मन्त्री पाण्डेयले प्रहरीलाई थर्काएको भिडिओ समेत सार्वजनिक भएको छ।

राजमार्ग विस्तारसँगै सडक दुर्घटनाका घटना बढिरहेकाले प्रहरीले राजमार्गमा सवारी साधनको जाँच बढाएको छ। सोही क्रममा हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी खण्डको वसन्तपुरमा प्रहरीको संयुक्त जाँच भइरहेको थियो। सो क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई पनि रोकेर ब्लुबुक मागे।

ती व्यक्तिले ब्लुबुक देखाउनुको साटो कुरा गर्नू भन्दै प्रहरीलाई आफूले कुरा गरिरहेको मोबाइल दिए। उताबाट बोल्ने व्यक्तिले आफू सन्तोष पाण्डेय भएको बताए। प्रहरीले आफूले नचिनेको बताए।

त्यसपछि फोन राखेका पाण्डेय पाँच मिनेटमै सो स्थानमा पुगे। आफू प्रदेशको मन्त्री भएको भन्दै ट्राफिक प्रहरीको हातबाट जरिवाना काट्ने रसिदको ठेली खोसे।

सडकमा जाँच गर्दा पर्यटन र व्यापार प्रभावित भइरहेको भन्दै यो काम बन्द गर्न प्रहरीलाई भने।

मन्त्री पाण्डेयको यो कार्य नौलो होइन। यसअघि पनि भारतीय गाडी र चालकलाई सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काएका भिडिओ सार्वजनिक भएका छन्। केही साताअघि नो पार्किङमा सवारी साधन राखेका भारतीय नागरिकलाई प्रहरीले नियम उल्लंघन गरेको भन्दै चिट काटेपछि पाण्डेय उत्तेजित भएर प्रहरीलाई थर्काएका थिए।

मन्त्रीले आफ्नो पदीय मर्यादा नाघेर सडकमा खटिने प्रहरीलाई थर्काउनु गलत भएको भन्दै उनको कार्यको आलोचना हुने गरेको छ।

प्रहरीले जाँच गरेको गुनासो लिएर मन्त्री पाण्डेय सामु पुग्नेहरू अधिकांश भारतीय गाडी र चालकहरू मात्र छन्।

गत असार ३१ गते भैरहवाको व्यस्त र मुख्य बजारको पार्किङ निषेधित क्षेत्रमा लामो समय रोकेर राखेको भारतीय नम्बरको कारलाई जरिवाना वापत् ५ सय रूपैयाँको चिट काटेको भन्दै पाण्डेय ड्युटीमा खटिएका प्रहरी कर्मचारीप्रति आक्रोशित बनेका थिए।

त्यसअघि बेलहिया नाकाबाट अटोमा आइरहेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले डन्डामा जाँच गर्दागर्दै पुगेका पाण्डेयले भारतीय नागरिकलाई जाँच नगर्न भन्दै सशस्त्र प्रहरीलाई थर्काएका थिए।

मन्त्री पाण्डेयको कार्यशैली र व्यवहारले आफूहरू कामप्रति निरूत्साहित भएको प्रहरी कर्मचारीहरूको गुनासो छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले प्रहरी कर्मचारीले कुनै गल्ती, कमजोरी गरेको भए आफूहरूलाई जानकारी गराउनुको साटो सडकमा खटिएका साना तहका प्रहरी कर्मचारीलाई थर्काउनु गलत भएको बताए।

मन्त्री पाण्डेयले भने प्रहरीले जाँचको नाममा भारतीय गाडी र पर्यटकहरूबाट गलत ढंगले पैसा असुल गरिरहेकाले, निरूत्साहित गर्न आफूले पहल गरेको दाबी गरे।

‘प्रहरीले जाँचको नाममा भारतीय गाडी र पर्यटकहरूलाई अनावश्यक दुःख दिने गरेका छन्। भारतीय नागरिक देख्यो कि जरिवाना असुल गर्ने परिपाटी बन्द गर्नुपर्छ,’ उनले भने।

प्रहरीले राजस्व बढाउने नाममा नियम उल्लंघन गरेको भन्दै जरिवाना लिने मात्र नभई नियम पनि सिकाउनुपर्ने उनले बताए।

उनले भने, ‘प्रहरीको काम जरिवाना लिने मात्र हो? नियमबारे जानकारी दिनु पर्दैन?’

प्रहरीले रसिद नकाटी पनि अवैध रूपमा रकम लिने गरेको आरोप उनले लगाए।

‘मैले जाँचका नाममा भारतीय पर्यटकमाथि प्रहरीको ज्यादती भयो, यस्तो नगरौं भनेको तपाईंहरू देख्नुहुन्छ। तर प्रहरीको ज्यादती देख्नुहुन्न,’ उनले भने, ‘म मन्त्री मात्र होइन। आम सर्वसाधारण पनि हुँ। मेरो आवाज सधैंभरि सर्वसाधारण र पर्यटकको पक्षमा हुन्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!