बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, लोनियाको घरमा गरिएको थप तलासीमा दुई वटा मोटरसाइकल (एक भारतीय नम्बरको पल्सर र एक यामाहा R15), विभिन्न दरका नेपाली र भारतीय नोट गरी कुल नेपाली रुपैयाँ २२ लाख ३ हजार ९१५ रुपैयाँ, ठूलो मात्रामा सुन–चाँदीका गहना, ५ थान खुकुरी, १ थान Canon DSLR क्यामेरा र १० थान एन्ड्रोइड मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
बरामद भएको नगद रकममा मात्रै नेपाली रुपैयाँ १८ लाख ६५ हजार (रु. १००० दरका नोट १८६५ थान) सहित अन्य विभिन्न दरका नोट र भारतीय रुपैयाँ १ लाख ३५ हजार १० (नेपाली रूपान्तरण अनुसार २ लाख १२ हजार रुपैयाँभन्दा बढी) रहेको छ।
गहनामा चाँदीका कडा, बाला, औंठी, सिक्सा, रिङ, झुम्का, जन्तर, ब्रासलेट, पायल, माला, नथी, ठुलो पायल लगायतका थुप्रै वस्तु तथा सुनजस्ता देखिने पहेँलो धातुका कडा, हार, सिक्री, बाली, झुम्का, औंठी, टप, लकेट, फुली, रिङ, सिरबन्दी, तिलहरी, मंगलसुत्र र जन्जिर फेला परेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएका छ्न ।