काठमाडौं । त्रिभुवन राजपथबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथको कमल मत्तामा गएको पहिरोका कारण हजारौँ यात्रु अलपत्र परेका छन् ।
शुक्रवार राति ९:३० बजे बागझोराको पहिरो पन्छाएर दिउँसो ४ बजेदेखि रोकिएका सवारी साधन सञ्चालनमा ल्याउने प्रयास गरिए पनि राति १० बजे फेरि पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वीरगञ्जबाट हेटौँडा हुँदै काठमाडौँलगायतका स्थान तर्फ जाने सवारी साधन हेटौँडा नजिकै रोकिएका छन् । ठूलो पहिरोका कारण पैदल हिँड्नसमेत असम्भव भएकाले हजारौँ यात्रु बिच बाटोमा फसेका छन् । काठमाडौँबाट आएका सवारी साधन भैँसेमा र हेटौँडाबाट काठमाडौँ जान लागेका सवारी साधन चौकी टोलमा रोकिएका छन् ।
मकवानपुरका ट्राफिक प्रमुख इन्स्पेक्टर बच्चुराम फुयाँलका अनुसार पहिरो पन्छाएर यातायात सञ्चालनको प्रयास भइरहेको छ । पहिरो पन्छाउने कार्यको अनुगमनका लागि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री डा. दिनेशचन्द्र देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र नारायण यातायात व्यवसायी सङ्घका महासचिव सरोजकुमार खनाल घटनास्थल पुगेका थिए ।
अधिकारीहरूले एक घण्टाभित्र यातायात सञ्चालनमा आउन सक्ने अनुमान गरेका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा यात्रा गरिरहेकाहरू शुक्रवार रातिदेखि नै पहिरोका कारण अलपत्र परेका छन् । अवरुद्धताले यात्रुहरूलाई ठूलो सास्ती भएको छ ।