कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं स्थापना दिवस विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनका कुनै पनि कर्मचारी लोभमा नफसी राज्यले दिएको अधिकारलाई प्रयोग गरी नागरिकको शान्ति सुरक्षामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सीमावर्ती क्षेत्रमा विपत व्यवस्थापन र राजस्व संकलनमा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान गरेको बताउँदै आगामी दिनमा थप जिम्मेवारीसहित काम गरी नागरिकमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
महानिरीक्षक अर्यालले सिमा नाकामा हुने तस्करी नियन्त्रण गर्न केवल प्रहरी मात्र सक्षम नहुने भएकाले सबैको सहकार्य अपरिहार्य रहने बताउनुभयो । उहाँले संगठनलाई यहाँसम्म ल्याउन सहिद भएका प्रहरीहरूको योगदान स्मरण गर्दै श्रद्धाञ्जली समेत अर्पण गर्नुभयो ।
त्यस्तै, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले समाजमा विपत व्यवस्थापनदेखि सिमासुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले गरेको योगदानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा उर्वसी आचार्यलाई लागुपदार्थ नियन्त्रण दूतको जिम्मेवारी प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति दिपेन्द्र कुवरले प्रदेशभर सशस्त्र प्रहरीद्वारा सञ्चालित गतिविधि र उपलब्धिहरूबारे जानकारी दिनुभयो ।
उहाँले समुदायस्तरमा पुगेर काम गर्ने रणनीतिले संगठनलाई नागरिकसँग नजिक बनाउन सहयोग गरेको बताउनुभयो ।