बाँके । विनाशकारी भूकम्पमा रुकुमको रिम्नाका खड्क बहादुर बी.के.को निधनपछि अनाथ बनेकी उनकी छोरी श्रीष्टी बी.के.लाई शैक्षिक सामग्री प्रदान गरिएको छ।
बर्दियाको तिलगाँवास्थित भगवती संस्कृत विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रीष्टीलाई समाजसेवी प्रसनी कुलबहादुर बी.के.ले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
हाल बाँकेको बढैयाताल गाउँपालिका–३, पुष्पनगरमा आफ्नी आमासँग बस्दै आएकी श्रीष्टीलाई विद्यालय पोशाक, कापी, कलम, जुत्ता, झुल र झोला प्रदान गरिएको समाजसेवी बी.के.ले बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा अभिभावक गुमाएका विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने।
समाजसेवी प्रसनी बी.के. नेपाल प्रहरीमा सहायक प्रहरी निरीक्षक (असई) को रूपमा कार्यरत छन्। उनले यसअघि बाँकेको जमुनहा प्रहरी चौकी, बेतहनी प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट बसपार्क र नगरभवनमा उत्कृष्ट कार्यसम्पादन गरेको स्थानीयवासीले बताएका छन्। केही दिनअघि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पुरस्कृत समेत गरेको थियो।
विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले यो सहयोगले श्रीष्टीको शिक्षामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। श्रीष्टीले पनि सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो पढाइमा थप प्रेरणा मिलेको बताइन्।