काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको पदावधि थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर ३० वर्षे सेवाहद हटाउन लागिएको हो ।
उच्च स्रोतका अनुसार ६ महिनाको म्याद थप्ने तयारीबारे छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली १४ गते चीन भ्रमणमा जाने भएकाले बिहीबारकै मन्त्रिपरिषद्को भ्रमणबाट यसबारे निर्णय गर्ने तयारी छ ।
प्रहरी महानिरीक्षक थापाले १८ भदौमा अवकाश पाउँदैछन् । प्रधानमन्त्री सोही दिन मात्र फर्कने भएकाले मन्त्रिपरिषद् बैठक बस्न समस्या हुनसक्ने भएकाले बिहीबार नै निर्णय गर्न लागिएको हो।
गत वर्ष १५ भदौमा अवकाश पाएका प्रहरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले असार महिनाभित्रै प्रहरी ऐन संशोसन गर्न भनेको थियो । सोही परमादेशका आधारमा यसरी निर्णय गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
यसअघि सर्वोच्चले प्रहरीका वृत्तिविकाससम्बन्धि विषय ऐन संशोधनमार्फत मात्र हेरफेर गर्न भनेको थियो । संसदमा पुगेको प्रहरी विधेयकमा हरेका प्रावधान नै समेटेर निर्णय गर्न मिल्ने गरी छलफल भइरहेको छ ।
प्रहरी महानिरीक्षक थापाको सत्तागठबन्धनसँग राम्रो सम्बन्ध भएकाले पनि उनको पदावधि थप गर्न लागिएको हो । उनीपछि आईजीपीका दाबेदारका रुपमा हेरिएका चन्द्रकुबेर खापुङको राजनीतिक सम्बन्ध राम्रो छैन ।
त्यसपछिको ब्याचका अधिकृतलाई पनि शक्तिकेन्द्रहरुले विश्वास नगर्दा थापालाई नै अघि बढाउने सम्भावना बढेको हो ।
यससँगै अवकाशको मुखमा पुग्न लागेका एआईजी कृष्णहरी शर्मा पोखरेल, सुदीप गिरी र टेकबहादुर तामाङलाई समेत फाइदा हुनेछ ।