काठमाडौं । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकारीहरूले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाको मृत्यु भएको छ । ओउडाई प्रान्तमा ९०० भन्दा बढी शङ्कास्पद सङ्क्रमितहरू भेटिएका मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री अब्देलमादजिद अब्देराहिमले बुधवार प्रभावित प्रान्तमा सेप्टेम्बरको सुरुमा एक साता लामो खोप अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अब्देराहिमले भने, “सरकारले यस रोगको फैलावट रोक्नका लागि पानी, सरसफाइ र स्वच्छताका उपायहरूलाई थप कडाइका साथ लागु गरेको छ ।”
जुलाई १३ मा ओउडाई प्रान्तको डोगुइ शरणार्थी शिविरमा पहिलो हैजाको घटना फेला परेपछि करिब २० हजार सुडानी शरणार्थी रहेको शिविरमा हैजासँग सम्बन्धित चार जनाको मृत्यु भएको थियो ।
गत जुन महिनामा विश्व स्वास्थ्य सङ्गठनले सुडानमा हैजाका बिरामी बढ्न सक्ने र चाडलगायत छिमेकी देशहरूमा फैलन सक्ने चेतावनी दिएको थियो । एजेन्सी