काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आजगनी, तोडफोड र लुटपाटका क्रममा प्रहरीको हतियार, पोशाक र सञ्चार सेट बोकेर हिंड्नेहरु धेरै देखिए ।
यतिसम्मकी प्रहरीका लुटेका पोशाक लगाएर सञ्चार सेट बोकेकाहरुले टिकटक, रिलजस्ता समाजिक सञ्जालमा भिडियो पोष्ट गरेर आफैंविरुद्धको प्रमाण प्रस्तुत गरेका छन् ।
स्थिति सामान्य बन्दै गएपछि ती सबैलाई प्रहरीले सुक्ष्म निगरानीमा राखिरहेको छ । अधिकांशको पहिचान हुनुका साथै हालको लोकसेन पत्ता लागिसकेको उच्च प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रहरीले लुटिएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल जारी गरेको छ । केहीले फिर्ता पनि गरेका छन् । तर, फिर्ता नगर्नेहरुलाई पन पक्राउ गरी आवश्यक कारबाही अघि बढाउने तयारी प्रहरीको छ ।
‘केहीले फिर्ता गरेका छन् । फिर्ता नगर्नेहरुमाथि सुष्म निगरानी भइरहेको छ । अब क्रमशः पक्राउ गरी कारबाही अघि बढाइन्छ’, नेपाल प्रहरीका एक एआईजीले काठमाण्डूटुडेसँग भने ।
२४ भदौको जेन–जी आन्दोलनका क्रममा काठमाण्डू उपत्यकाका अधिकांश प्रहरी कार्यालय आन्दोलनकारीको निशानामा परे । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीसहित उपत्यकाका अधिकांश वृत्त, प्रभाग र प्रहरी चौकी खरानी भएका छन् ।
उपत्यकाबाहिर पनि धेरै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र चौकी आन्दोलनकारीले जलाएका थिए ।