२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौं गौशालामा छतमा बसेर आन्दोलन हेरिरहेकी निकिताको छातीमा कसरी गोली लगेर मृत्यु भयो ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०१, २०८२

काठमाडौं । गौशालामा बस्ने निकिता गौतमलाई खपिनसक्नु भएको थियो । आफ्नै उमेरका युवाहरूलाई भटाभट गोली ठोकिएको घटना चुपचाप सहेर बस्न उनको मनले मानेको थिएन।
भोलिपल्ट उनले पनि आन्दोलनमा निस्किने निधो गरिन्। त्यही भएर सधैँ ढिला उठ्ने उनी त्यो दिन बिहान ५ बजे नै उठिन्। तयार भइन् र बाहिर निस्किन्।

तर, निकिताकी आमा कल्पना भने डराइरहेकी थिइन्। त्यसैले उनी पनि सँगसँगै बाहिर निस्किन्। आन्दोलनको रापताप सुरु भइसकेको थिएन। उनले छोरीलाई फकाएर डेरामा फर्काइन्।
निकिताका ठुलोबुवाकी छोरी रोजिनाको अनुसार दिउँसो खाना खाएपछि बाहिर जोडजोडले हल्लाखल्ला चल्यो। त्यसपछि निकिता आफू बसेकै घरको छतमा उक्लेर सडकको रमिता हेर्न थालिन्। हेर्नेहरू अरु पनि थिए।

चार तलामाथिको त्यो छत गौशाला प्रहरी कार्यालयको ठिक सामुन्ने पर्छ। आन्दोलन हेरिरहेकै बेला दिउँसो २ बजेतिर अचानक गोली चल्यो। छतमा बसेका मानिसहरू सबै हतारहतार निहुरिए र घरभित्र छिरे। तर, निकिता भित्र आइनन्।

तर, सबै भित्र छिर्दा निकिता नआएपछि उनीहरू फर्केर छतमा गए। निकिता भुइँमा ढलेकी थिइन्। उनको छातीमा गोली लागेको थियो।

‘केही मेसै नपाई गोली चल्यो। निकिता पनि गोलीबाट बच्न भुइँमा सुतेकी होलिन् जस्तो लागेको थियो,’ रोजिनाले सुनाइन्, ‘तर, उनको छातीमा गोली लागेको रहेछ।’
हतारहतार निकितालाई नजिकैको फ्रन्टलाइन अस्पताल पुर्‍याइयो। तर, चिकित्सकले उनको मृत्यु भइसकेको बताए।
चितवनको पदमपुरकी स्थायी बासिन्दा निकिता मात्र १९ वर्षकी थिइन्। उनका आमाबुवा छोराछोरीको राम्रो शिक्षादीक्षाका लागि भन्दै काठमाडौँ आएका थिए।
बुवा लोकनाथ भक्तपुरको एक स्टिल कारखानामा काम गर्छन् भने आमा घर सम्हाल्छिन्।
सोमबार पशुपति आर्यघाटमा निकिताको अन्तिमसंस्कार गरियो। तर, कल्पना र लोकनाथ दुवैले न त छोरीको अनुहार अन्तिम पटक हेर्न सके, न उनलाई छुन नै।
‘उहाँहरू दुवै जना अहिले बोल्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ,’ रोजिना भन्छिन्।
उनको क्रियामा पनि ठूलोबुवा बसेका छन्।
निकिताको आमा पहिलेदेखि नै सुगरको बिरामी थिइन्। हाल उनको इन्तु न चिन्तुको अवस्थामा रहेको रोजिनाको भनाइ छ।
‘न केही बोल्नुहुन्छ, न केही इसारा नै गर्नुहुनछ। एकोहोरो टोलाइ मात्र रहनुहुन्छ,’ रोजिनाले सुनाइन्।
निकिताले भर्खरै जेभियर कलेजबाट कम्प्युटर साइन्समा १२ कक्षा पास गरेकी थिइन्। उनका दाइ डेनमार्कमा छन्। त्यसैले स्नातक अध्ययनका लागि डेनमार्क नै जाने तयारीमा थिइन्।

सोही घरमा कुमार उपाध्यायलाई पनि लाग्यो गोली
सोही छतमा आन्दोलन हेरिरहेका कुमार उपाध्यायलाई पनि गोली लागेको छ। ४५ वर्षीय कुमारको हात र पेटमा गोली लागेको हो।
हाल उनको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ। कुमारको पेटमा लागेको गोली कलेजोसम्म पुगेको छ। जहाँ कयौँ छर्रा लागेको चिकित्सकको भनाइ छ।
एक पटक शल्यक्रिया गरेर उनको शरीरबाट छर्रा निकालिएको छ। तर, अझै अर्को शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।
१० घण्टा लामो जोखिमपूर्ण शल्यक्रिया केही समयपछि गर्नु उचित हुने सुझावअनुसार उनीहरू अहिले अस्पतालमै भर्ना भएर बसेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।