दाङ । घोराही होटेल सञ्चालन ओविन्द्रबहादुर महराले घटनालाई दुःखद् भन्दै तोडफोड र आगजनी गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् । ‘घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्छ’ सञ्चालक महराले भने ।
होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको समेत लगानी रहेको भन्ने हल्लाका भरमा तोडफोड र आगजनी भएको भन्ने आफूले सुनेको भन्दै उनले भने, ‘होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको कुनै लगानी छैन ।’ आफूले बैंकबाट ऋण लिएर गरेको व्यवसाय सञ्चालन गरेको जानकारी पनि उनले दिए ।
‘यस्तो तोडफोड र आगजनीका घटनाले लगानीकर्ताको मनोवल कमजोर बनाउछ, मेरो घरसल्लाहमा अर्को व्यवसाय थप्ने भन्ने योजना थियो, अहिलेलाई मन नै मरेर गएको छ’ उनले भने–‘यस्ता गतिबिधिले नयाँ पुस्तालाई देशमै बसुँ र केही गरुँ भन्ने भावना जाग्न दिदैन भन्ने मेरो चिन्ता हो ।’
अहिले होटेलको सरफाइसँगै मर्मतको काम चलिरहेको र असोज २ गतेबाट होटल सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक महराले बताए । ‘यथासक्य मर्मत सकेर होटल सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौँ’, उनले भने । होटल पूर्णरूपमा मर्मत नगरी सञ्चालनमा ल्याउँदा ग्राहकलाई समस्या पर्नेसक्ने तर्फ आफू सचेत रहेको र सक्दो राम्रो सेवादिने प्रयत्न रहने उनले बताए । जिल्लाको पहिचानको रूपमा रहेको होटेल मालाइनलाई पुरानै अवस्थामा फर्काउन सबैको साथ र सहयोग आवश्यक पर्ने उनले बताए ।