पर्सा । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको एउटा वयस्क बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको छ । पछिल्लो समय तीन जनाको ज्यान लिइसकेको यो बाघलाई समात्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।
बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोली परिचालन गरिएको थियो । पर्सा राष्ट्रिय निकुञ्ज, नेपाल आर्मी, नेपाल प्रहरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष सुभाष श्रेष्ठ र वडा नम्बर २२ का अध्यक्ष शेखर काजी रुम्बासहितको टोलीले हात्तीको सहयोगमा बाघको खोजी गरिरहेको थियो ।
निरन्तरको प्रयासका बावजुद पटकपटक असफल भएको यो टोलीले अन्ततः शुक्रबार बिहान बाघलाई जालमा पार्न सफल भएको हो । बाघ समातिएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् । मान्छे खाने बाघ नियन्त्रणमा आएपछि यस क्षेत्रमा सुरक्षाको प्रत्याभूति बढेको छ । नियन्त्रणमा लिइएको बाघलाई अब निकुञ्ज प्रशासनले आवश्यक व्यवस्थापन गर्नेछ ।