काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट लुटिएको हतियार कैलालीमा फेला परेको छ।
उपत्यका अपराध महाशाखाको विशेष सूचनाको आधारमा हतियार लुटी लुकाएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, सोही ठाउँका १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन्। साथै गौरीगंगा नगरपालिका–३ का २० वर्षीय जिबेश सापकोटा पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो। सबैलाई काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।