बाँके । नेपालगन्जका केही स्थानमा आज दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार झडपमा तीनजना प्रहरीसहित २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिएका छन्।
एसपी जिसीले घाइते सबैको अवस्था सामान्य रहेको बताएका छन्। झडपमा कसैको ज्यान गएको भन्ने हल्ला फैलिएको भए पनि त्यो पूर्ण रूपमा गलत रहेको उनले स्पष्ट पारे। “कसैको ज्यान गएको छैन, अफवाहमा विश्वास नगर्न सबैलाई आग्रह गर्छु,” उनले भने।
नेपालगन्जमा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते
प्रहरीले मुख्य झडप भएका तीन स्थानलाई नियन्त्रणमा लिएर सुरक्षा निगरानी बढाएको छ। एसपी जिसीले शान्ति कायम राख्न र संयमित रहन सबैमा अनुरोध गरेका छन्। “हल्ला र अफवाहको पछि नलागी शान्तिपूर्ण वातावरण बनाउन सहयोग गर्नुहोस्,” उनले भने।
स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरिरहेको छ।